२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

देश र जनताको पक्षमा ऐतिहासिक काम भएको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौ, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको र त्यही अनुसार काम भइरहेको बताएका हुन् । उनले सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए ।

उनले नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जस्ता जनताको पक्षमा महत्वपूर्ण काम भएको उल्लेख गरे । 

उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पु¥याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको जानकारी दिए । त्यस्तै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए । पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले खोजमुलक तथ्यमुलक र व्यवसायीक पत्रकारीकताको आवश्यकता बढ्दै गएको बताइन् । उनले संविधानको प्रस्तावनामा नै लेखिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनले मात्रै अव नेपाली पत्रकारहरुको अधिकार सुनिश्चित भएको मानिने धारणा राखिन् । मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक लगाएतलाई छिटो पारित गर्न सरकार गम्भीर रहेको बताइन् । 

त्यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालमा प्रेस स्वतन्त्रताको सम्पूर्ण रुपमा उपयोग गर्न सक्छौ की सक्दैनौ भनेर प्रश्न गर्दा शंका गर्ने अवस्थामा रहेको बताए । संविधानको मर्म अनुसार मिडियासंग सम्बन्धीत कानून अझै पनि बन्न नसकेको र प्रतिवद्धता मात्रै आएको उनले बताए । पोखरेलले कानून निर्माणको पुरानो प्रक्रियालाई पुर्नबिचार गदै फास्ट ट्रयाकबाट कानून बनाउने बिषयमा राजनीतिक दलहरुले सोच्नुपर्ने बताए । राज्यका सबै संरचनाहरुबाट मिडियालाई नियन्त्रण गर्ने मानसिकता तोड्ने अहिलेको चूनौति रहेको उनले बताए । कार्यक्रममा बिभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस