२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

जिम्मेवार निकायको जवाफदेहिताका लागि कानून

दाङ, २६ वैशाख । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले जिम्मेवार निकायको जवाफदेहिताका लागि कानूनको आवश्यकता पर्ने कुरामा जोड दिएका छन् । उनले जिम्मेवार निकायले सही ढंगले काम नगर्दा कानूनको आवश्यकता पर्ने गरेको बताए । ‘जहाँ जिम्मेवारी पुरा भएको हुँदैन त्यहाँ कानूनको आवश्यकता पर्ने गर्दछ’ मुख्य न्यायाधीश पाण्डेले भने । ६५ औ कानून दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेज कानून संकाय ले आयोजना गरेको कानुनको परिपालनामा जिम्मेवार निकायको भूमिका विषयक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मुख्य न्यायाधीश पाण्डेले कुनै पनि कुरालाई सही या गलत भन्दा पनि त्यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

 ‘अहिले कुनै पनि क्षेत्र राम्रो छैन, यहाँ केही पनि राम्रो भएको छैन भन्ने खालको सोच देखिन्छ । यसलाई गहिरो ढंगले बुझेर सुधार गर्न लाग्नुपर्दछ’ प्रमुख अतिथि पाण्डेले भने ।  कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संविधानले निर्देश गरे अनुसारका कानून नबन्दा चाहे अनुसार कार्यसम्पादन गर्न नसकिएको बताए । समयमै कानून नबन्दा संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउँदै खड्काले सुशासनका लागि कानून निर्माणमा ध्यान दिनुपर्ने बताए । वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कानूनी अभावमा समयमै र सही न्याय सम्पादन गर्नका लागि जटिलता उत्पन्न भएको बताए । 

उनले आवश्यक कानून निर्माणमा सरकारले चासो दिनुपर्ने कुरामा समेत जोड दिए। सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहन सागर बस्यालले कानूनका बारेमा दिवसमा मात्रै चर्चा गर्नु भन्दा सधैँ उत्तिकै महत्व दिनुपर्ने बताए । कानूनमा उल्लेख भएपनि समुदायले त्यसको पालनामा चासो नदिँदा  कार्यान्वयनमा समस्या आएको उनले बताए । ‘हामीकहाँ कानूनमा कति जन्ती लैजाने भन्ने कुरा उल्लेख गरिएको छ तर कसैले पनि त्यसको पालना गरेको छैन र पालना नगर्नेलाई कानूनी कारबाही पनि भएको छैन’ उनले भने । कानूनको पालना कहाँ कहाँ भएन र किन भएन भनेर आजका विद्यार्थीहरूले अध्ययन गर्नुपर्ने आवश्यकता रहेको कुरामा उनको जोड थियो । कार्यक्रममा विद्यार्थीहरू दिलिप केवट र इन्द्रबहादुर खत्रीले कानून दिवसको सान्दर्भिकतामा बारेमा प्रस्तुति दिएका थिए ।  कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कानून संकाय प्रमुख विजय पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने सहजिकरण मालती श्रेष्ठले गरेकी थिइन् । 

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस