२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

सबै व्यवसायीका भावना समेटन संयुक्त प्यानल

दाङ, २७ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएको संयुक्त व्यवसायी प्यानल यतिबेला मत माग्दै मतदाताको घरघरमा पुगिरहेको छ । आज बिहान ५ बजेदेखि प्रचारप्रसार तथा मतदाता भेटघाटमा खटिएको टोली बिहानभर तुलसीपुर क्षेत्रका योगाहलहरुमा पुगेर योगामा उपस्थित व्यवसायीहरुसँग मत मागेको थियो । त्यसपछि तुलसीपुरका विभिन्न वडाका व्यवसायीहरुको घरदैलोमा पुगेको छ । 

जसअन्तर्गत वडा नं. को १ को भमके, वडा नं. ८ को दूधेना, नयाँबस्ती, दोघरे, वडा नं. ९ कट्कुइँयाँलगायतका ठाउँमा व्यवसाय गर्दै आएका व्यवसायीहरुसँग भेटघाट गरिएको र सम्पूर्ण व्यवसायीहरु संयुक्त प्यानकै पक्षमा रहेको संयुक्त प्यान जिताउँ अभियानका अभियन्ता सेवकराम भण्डारीले बताएका छन । उनले भने– ‘सबै विचारका र सबै तहका व्यवसायीहरुको प्रतिनिधित्व भएकोले पनि संयुक्त प्यानलप्रति मतदाताहरुको आकर्षण देखियो ।’

संयुक्त प्यानको अध्यक्ष पदका उम्मेदवार ललितजंग शाहले उद्योग वाणिज्य संघ साझा फोरम भएकोले कुनै एक दलको नेतृत्वले सबैको भावनाको सम्मान गर्न नसक्ने धारणा राखेका छन । ‘उद्योग वाणिज्य संघभित्र सबै दलका व्यवसायीहरु आवद्ध छन । 

कुनै एउटा दलको नेतृत्वले सबै व्यवसायीको भावना कसरी बुझ्न सक्छ । त्यसकारण हामीले सबै दलको प्रतिनिधित्व हुने प्यानल बनाएर निर्वाचनमा उत्रिएका छौं’– उनले भने ‘विगतदेखि नै उद्योग वाणिज्य संघको नेतृत्व आफ्नो मुठीमा राख्ने कुचेष्ठा गर्नेहरुको कर्तुत व्यवसायीहरुले बुझिसकेका छन ।  त्यसकारण मतदाताले तुलसीपुर उद्योग वाणिज्य अब नेतृत्व संयुक्त प्यानललाई नै सुम्पिनुहुन्छ ।’

संयुक्त व्यवसायीको टोली अहिले व्यवसायीहरुको घरदैलोमै पुगेर व्यवसायीका गुनासो, सुझाव संकलन गर्न व्यस्त छ । निर्वाचित भएसँगै व्यवसायीहरुका गुनासो सम्बोधन र सुझाव कार्यान्वयनमा लाग्ने अध्यक्ष पदका उम्मेदवार शाहले बताएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस