दाङ, २८ वैशाख । दक्षिण कोरियामा स्थायी रुपमा बसोबास गर्दै आएका कुवांग येंग जिओ र किम युंग ना दम्पत्तीले हिरा डाँगी फाउण्डेसन एकाडेमीमा आवद्ध बालबालिकाहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । दक्षिण कोरियाको थेगु शहरमा बसोबास गर्दै आएका दम्पत्तीले फाउण्डेसनमा आवद्ध भएर फुटबल खेल्ने जेहेन्दार तथा आर्थिक अवस्थामा कमजोर भएका ३५ जना बालबालिकाहरुलाई खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन् ।
हिरा डाँगी फाउण्डेसनका प्रशिक्षक तथा राष्ट्रिय खेलाडी प्रिती बहादुर गिरी ‘प्रेस’ को समन्वयमा उक्त दम्पत्ती दाङस्थित हिरा डाँगी फाउण्डेसनका बालबालिकाहरुलाई खेलकुद सामाग्री वितरणका लागि नै दाङ आएको प्रशिक्षक गिरीले बताए । आफ्नो सानो छोरा पनि नेसनल क्लबबाट फुटबल खेल्ने भएकोले सोही प्रभावका कारण नेपालमा आएर यस्तो खालको सहयोग गरेको क्वांग येंग जिओले बताए । यसअघि यी दम्पत्तीले यूनिसेफमा सहयोग गर्दै आएको भएपनि प्रशिक्षक गिरीको समन्वयमा दाङमा आएर सहयोग गरेको बताए । आफू नेपालमा आएर सानो सहयोग गर्न पाउँदा निकै हर्षित भएको समेत उनले बताए ।
उनीहरुले एकाडेमीमा आवद्ध रहेका ३५ जना बालबालिकाहरुलाई तीन लाख बराबरको खेलकुद सामाग्री सहयोग गरेका छन् । हिरा डाँगी फाउण्डेसनद्धारा संचालित एकाडेमीमा करिब ७० जना बालबालिकाहरु आवद्ध छन् । एकाडेमीका प्रशिक्षक प्रिती बहादुर गिरी ‘प्रेस’ को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण एन्फा दाङ जिल्लाका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।