दाङ, ५ जेठ । नेपाल औषधि व्यवसायी सङ्घ दाङ शाखाको स्तरीय क्षेत्रगत भेला आज तुलसीपुर सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी सङ्घ दाङ शाखाको अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य भुवनेश्वर बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घ तुलसीपुरका अध्यक्ष विनिल केसी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भुवनेश्वर बुढा मगरले अन्य व्यवसाय भन्दा औषधी व्यवसाय संवेदनशील भएकाले सानो लापरबाहीले कसैको ज्यान जान पनि सक्ने र सानो प्रयास, उपचारको ज्यान पनि जोगिन सक्ने हुनाले यसमा सबै व्यवसायीहरु संवेदनशील रहनु पर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबचन्द्र मल्लले औषधि लागुपदार्थ दुर्व्यसनी सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले औषधी ब्यवसायीहरुलाई लागूऔषधको प्रयोजन र अनुमतिबारे जानकारी गराएका थिए । त्यस्तैगरी असल फार्मेसी सञ्चालन जिपिपि सम्बन्धी प्रशिक्षण फार्मसिष्ट रमेश खनालले दिएका थिए ।
त्यस्तै संघले तुलसीपुर स्तरीय क्षेत्रगत खुद्रा व्यवसायी र जिल्ला स्तरीय थोक उपसमिति गठन गरेको छ । जसमा थोकतर्फ थोक व्यवसायी उपाध्यक्ष अजय केसीको संयोजकमा सदस्य सचिव मनहरी थापा गरी ९ सदस्यीय जिल्ला स्तरीय उपसमिति गठन गरेको छ । त्यस्तै खुद्रातर्फ धर्मराज बुढाको संयोजकमा भिम बस्नेत र ओम प्रसाद डाँगी गरी दुई सदस्यीय तुलसीपुर क्षेत्रगत उपसमिति गठन गरेको छ ।
कार्यक्रममा ८० भन्दा बढी औषधी व्यवसायीहरु सहभागी भएका थिए । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघको नवनिर्बाचित कार्यसमिति तथा पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।
थोक व्यवसायीका उपाध्यक्ष अजय केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा खुद्रा लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव सुनिल रेग्मीले गरेका थिए ।