
दाङ, ६ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले प्राविधिक शिक्षाको केन्द्रका रुपमा कलेजले आफूलाई स्थापित गर्दै लगेको बताए । उनले प्राविधिक शिक्षाले श्रम प्रति सम्मान गर्न सिकाउने भन्दै श्रमलाई व्यवस्थापन गर्न नसक्दा बेरोजगारी उत्पन्न भएको कुरामा जोड दिए । उनले युवाहरूलाई व्यावसायिकता तर्फ उन्मुख गराउनु अहिलेको आवश्यकता रहेको भन्दै सीपले स्वरोजगारको बाटो तय गर्ने समेत बताए ।
उनले श्रम गर्नेहरूलाई सम्मान गर्ने संस्कारको विकास हुनु आवश्यक रहेको समेत बताए । तुलसीपुर मेट्रो कलेज नयाँ सोच र संकल्प का साथमा अगाडि बढेको भन्दै उनले उत्पादित जनशक्तिको क्षमताका आधारमा कलेजको मापन हुने समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले नमुना कलेजका रुपमा विकास गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्राविधिक शिक्षाको समग्र विकासका लागि आफूहरू प्रतिवद्ध रहेको समेत बताए ।
यस्तै संविधान सभा सदस्य अनारकली मियाले स्थानीय विकासका लागि कलेजले भूमिका खेलेको कुरामा जोड दिइन् । लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीले कलेजले तुलसीपुरको गौरवका रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले प्राविधिक शिक्षाको विकासले स्थानीय विकासमा महत्वपूर्ण भूमिका बहन गर्ने कुरा बताए ।
उनले कलेज सञ्चालनका लागि प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा समेत गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबाबु सुवेदी, विद्यार्थी निराजन आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए भने सञ्चालक समिति अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि राखेका थिए ।