२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

गर्मीका कारण कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तु, १९ जेठ । कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो ।

ईमिलियाबाट आफ्नो छोरीलाई भेटेर फर्किने क्रममा सन्धिखर्क नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो । गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए । जेठ १७ गते साँझ साढे ६ बजे तिर उहाँ कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला परेका हुन ।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिएका हुन । शुक्रबार मात्र उहाँको पहिचान खुलेको थियो ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताएका हुन ।

मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने उनको भनाइ छ । मृतकको शरीरको कुनै भागमा चोट छैन । मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाको अवस्था राम्रै रहेको बताएका हुन । एक सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण जिल्लाका पालिकाले विद्यालय बिदा गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस