दाङ, २१ जेठ । दाङमा यस वर्ष करिब तीन लाख क्युफिट काठ कटान हुने भएको छ । डिभिजन वन कार्यालय घोराही र लमही अन्तर्गत जिल्लाका ८२ वटा सामुदायिक वन समूहबाट यस वर्ष करिब दुई लाख ९४ हजार दुई सय क्युफिट काठ कटान गरी सङ्कलन गरिने भएको छ ।
वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय घोराही अन्तर्गत पर्ने ३६३ सामुदायिक वनमध्ये १९ वटा सामुदायिक वनबाट करिब एक लाख ५० हजार क्युफिट काठ र चार सय चट्टा दाउरा कटानका लागि सामुदायिक वन उपभोक्ता समूहले कटान गर्न आदेश लिएको डिभिजन वन कार्यालय घोराहीका वरिष्ठ वन अधिकृत मदन सापकोटाले जानकारी दिए।
कटान आदेश लिएका सामुदायिक वन समूहले जेठ मसान्तसम्म काठ कटान गरिसक्नुपर्ने उनले बताए । उनका अनुसार कटान आदेश लिएका सामुदायिक वन समूहले काठ कटान गर्दै सङ्कलन तथा घाटगद्दी गर्ने काम गरिहेका छन् । डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुख मात्रै कटानका लागि आदेश दिएको वरिष्ठ वन अधिकृत सापकोटा बताए ।
कटान आदेश अनुसार रुख खटान भएरनभएको विभिन्न चरणमा अनुगमनसमेत गर्ने गरेको भन्दै सापकोटाले भने, “अनुगमनका क्रममा करिब ८० वर्ष पुराना तयार भएका र अरूलाई असर गर्ने खालका रुखलाई कटान आदेश दिए अनुसार कटान हुने गरेको छ ।” उनका अनुसार गत वर्ष घोराही डिभिजन वन अन्तर्गत करिब ७० हजार क्युफिट काठ कटान गरी सङ्कलन गरिएको थियो ।
त्यसै गरी डिभिजन वन कार्यालय लमही अन्तर्गत रहेका १४९ वटा सामुदायिक वन समूहमध्ये ६३ वटा वन समूहबाट १, ४४, २०२.४० क्युफिट काठ कटान गरी सङ्कलन गर्न आदेश भएको वन अधिकृत रामगोपाल चौधरीले जानकारी दिए ।
वन अधिकृत चौधरीका अनुसार यस क्षेत्रबाट ४७१.२५ चट्टा दाउरा कटान हुने भएको छ । उनका अनुसार वन संवर्धन प्रणाली लागु भएका वन समूहलाई काठ कटानको आदेश दिइएको छ । गत वर्र्ष लमही अन्तर्गत ३६ वटा सामुदायिक वनलाई ४४ हजार छ सय क्युफिट काठ र ६२.८५ चट्टा दाउरा काठ सङ्कलन भएको थियो ।
विशेष गरी साल जातका रुखहरू भएका सामुदायिक वन उपभोक्ता समूहले मात्रै काठ दाउरा कटानका लागि आदेश लिएका छन् । ढलापडा, तयार भएका खडा तथा वयस्क अवस्थाका पुराना रुख सामुदायिक वन समूहले कटान गरी काठदाउरा सङ्कलन तथा बिक्री गर्न आदेश लिएको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत चौधरीले बताए । वनमा तयार भएका रुखहरूलाई व्यवस्थापन गर्ने उक्त ठाउँमा नयाँ बिरुवा रोप्ने गरी कटान आदेश भएको उनले बताए ।
बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले तयार भएका रुखहरूको व्यवस्थापन गर्न थालिएको उनले बताए । यसरी कटान गरिएको काठ वन समूहका माध्यमबाट ५० प्रतिशत वन समूहका सदस्यले उपयोग गर्ने र बाँकी ५० प्रतिशत बाहिरका उपभोक्तालाई बिक्री गरिने डिभिजन वन कार्यालयले जनाएको छ । वनमा तयार भएका साल, साझ, जामुनलगायतका रुखलाई कटान आदेश दिने गरिएको छ ।