दाङ, २३ जेठ । २०६८ सालमा सञ्चालनमा तुलसीपुर– सुर्खेत सडक खण्ड अन्तर्गत पातुखोलामा रहेको पुल जीर्ण भएपछि स्थानीयहरू चिन्तित भएका छन् पश्चिम दाङ जोड्ने पुलको मुख्य पिलर नै खोला साँघुरो र गहिरो हुँदै गएपछि जीर्ण हुँदा दुर्घटनाको जोखिम रहेको भन्दै सम्बन्धित निकायले यसमा ध्यान दिनु पर्ने स्थानीय पदम पोख्रेलले बताए । उनका अनुसार २०६५ सालमा ४ करोड ४५ लाख रुपैयाँमा पुल निर्माण भएको थियो । तुलसीपुर ९ र ५ मा पर्ने पातुखोलाको पुल खोला पश्चिम दाङ लगायत सल्यान हुँदै सुर्खेत जोड्न रहेको समेत उनले बताए ।
उनले खोला साँघुरो बनाउँदै गएपछि पानी एक ठाउँबाट बग्न थालेपछि पुलको बिचको पिलर नै जोखिम परेको छ । दायाँ बायाँबाट खोला अतिक्रम हुँदा अहिले कुलो जस्तो भएको छ । जसका कारण बर्खामा आउने बाढीका कारण पुल नजिकै लगाएको तारजाली बगाएको छ, भने पुलको पिलर नै जोखिम रहेको उनको भनाइ छ । बर्खा शुरु हुनु भन्दा अगाडि यस पुललाई बचाउन चेक ड्याम लगाउनु पर्ने र यदि नलगाए पुल भत्किन सक्ने उनले बताए ।
उनले भने,‘ पहिलो पुलको लागि बनाएको तारजाली खोलाले बगाएको छ । यसका लागि स्थानीय सरकार प्रमुखलाई हामीले जानकारी गराएका छौँ । यो पुल अत्यन्त जीर्ण अवस्था रहेको छ । पुलको पिलर नै खोलाको सतह भन्दा तल गएको छ । यो बर्खा भन्दा अगाडि यो पुलको संरक्षण नभए ठुलो क्षति हुनसक्छ ।’ यस्तै उनले यो पुललाई बचाउनको लागि सबैले उक पटक आवाज उठाउनु पर्ने उनको भनाइ छ ।
यस्तै तुलसीपुर ५ बसपार्कमा रहेको नवज्योति टोलका कोषाध्यक्ष गुमान खत्रीले पनि पुलको पिलर खोलाको सतह भन्दा तल गएको हुँदा बसपार्कमा जोखिम पूर्ण रहेको बताए । उनका अनुसार पुलदेखि दक्षिणतर्फ रोकथामको लगाएको तारजाली खोलाले भत्काएको र पुलको बिचको पिलरबाट नै पानी बग्ने हुँदा जोखिम रहेको बताए । उनले भने,‘ अन्य पिलरहरू सबै ठिक छन्, तर, बिचको पिलर खोलाको सतह भन्दा तल गएको छ । पिलरको जग नै देखिने अवस्था रहेको छ । यो पुलले गर्दा पश्चिम दाङ लगायत सल्यान लगायतका नागरिकहरूलाई धेरै सहज भएको छ ।’
उनका अनुसार पुलदेखि उत्तरतर्फ अतिक्रमणले गर्दा खोला साँघुरो रहेको छ । पुल नजिकको जाली पनि भत्काएको छ । जसले गर्दा यहाँ जति बेला पनि पुलमा क्षति हुने र दुर्घटना हुन सक्ने अवस्था रहेको छ । यसका लागि आफूहरूले विभिन्न पटक कुरा उठाउँदै आएको भएयता पनि सम्बन्धित निकायले चासो नदिएको उनले गुनासो गरे । अहिले खोला कुलो जस्तो रहेको छ । एक / दुई वर्षदेखि पुल जोखिम हुँदै गइरहेको अवस्थामा अहिलेसम्म सम्बन्धित निकायले ध्यान नदिएको उनको भनाइ छ ।
कुनै पनि समय धेरै पानी परेको खण्डमा यहाँ ठुलो धनजनको क्षति हुनसक्ने अर्का स्थानीयले बताए । उनका अनुसार खोलालाई अहिले कुलो जत्रा बनाइएको छ । ठुलो पानी परेर बाढी आए, बस्तीमा पस्न सक्छ । खोलालाई खोलाको रुपमा नराख्दा जति बेला पनि दुर्घटना हुनसक्छ । यसमा राज्यले गम्भिर रुपमा ध्यान दिनु पर्ने उनको भनाइ छ । यस्तै पातुखोलाका कारण दुर्घटनाको जोखिम उच्च रहेको अर्का स्थानीय टेक बहादुर डाँगीले बताए ।
