२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप लामिछाने सहभागी हुने

काठमाडौ, २८ जेठ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ ।

सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।  

साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस