२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

यस पटक मल अभाव हुँदैन : वितरण गर्ने निकाय, मल सहज रुपमा पाइनेमा किसानलाई शंका

दाङ, ३० जेठ । खेती गर्ने बेला समय मै मल अभावका कारण समस्या भोग्दै आएका किसानहरूलाई भने यस पटक मल सहज हुने भएको छ । जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराही र कृषि सामाग्री कम्पनी लिमिटेड वितरण गर्दै आएका छन । यि दुबै कम्पनीका अनुसार विगतका वर्ष झै यस पटक मलको अभाव हुँदैन । तर, किसानहरूलाई भने मल सहज रुपमा पाइनेमा शंका छ । 

घोराही उपमहानगरपालिका ८ बेलुवाका किसान राजकुमार चौधरीलाई बर्खे खेतीको लागि ६ बोरा रासायनिक मलको आवश्यक पर्छ । गत वर्ष सरकारले दिएको अनुदानको मल पर्याप्त नपाएपछि बजारमा महँगो मल किनेको भन्दै उनले यस पटक एक बोरा डीएपी र ३ बोरा युरिया मल पाएको बताए । उनले भने,‘ हामी जस्ता किसानले अहिलेसम्म सरकारले दिने अनुदानको मल सहज रुपमा कहिँले पाउँदैनौँ, सधैँ बजारको मल किन्न पर्छ । अहिले पनि एक मल सहज रुपमा पाइएला र ?’ आफूहरूले सरकारले दिएको मल सहकारी मार्फत किन्ने गरेको र एक बोरा युरियालाई एक हजार ५० र डीएपीलाई २५ सय पर्ने गरेको समेत उनले बताए । 

घोराही ८ सौरीका ऋषिराम चौधरीले डेढ बिगाहा जमिनमा धान खेती गर्ने गरेका छन् । उनले पनि धेरै जसो मल बजारबाट महँगोमा किन्ने गरेको बताए । उनका अनुसार अनुदानको मल भन्दा एक बोरा युरिया मलमा ५ सय बढि पर्ने गर्दछ । उनले पनि अहिलेसम्म आफूले एक – एक बोरा युरिया र डीएपी पाएको बताए ।

उनलाई खेत र बारीमा गरी १० बोरा मल आवश्यक पर्छ । उनले पनि सहज रुपमा मल पाइनेमा शंका गरेका छन् । उनले भने,‘ अहिले पनि मल सहज रुपमा पाइन्छ, भन्ने कुरा सुनेको छु । तर, अहिलेसम्म दुई बोरा मात्र मल पाएको छु । हामी किसानलाई सधैँ मल, पानी, रोगको समस्या हुन्छ ।’ यस्तै शान्तिनगर गाउँपालिका ७ कासिपुरका किसान खिमलाल वलीलाई पनि मल कै चिन्ता रहेको छ । अहिलेसम्म आफूहरू जस्ता किसानहरूले सहज रुपमा मल नपाएको भन्दै उनले सहकारीबाट मल ल्याउँदा एक बोरालाई पनि बाँडेर ल्याउने गरेको बताए । उनले भने,‘ गत वर्ष मल सहज नहुँदा मैले सल्यानबाट मल ल्याएको थिए । यस पटक पनि उस्तै होला । के गर्ने हामी किसानले कहिँले पनि खेती गर्दा सहज रुपमा मल पाउँदैनौँ ।’

मल अभाव हुँदै, मल वितरण गर्ने निकाय

      गत वर्षको तुलनामा यस पटक रासायनिक मलको अभाव नहुने जिल्लामा मल वितरण गर्दै आएका कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा र साल्ट ट्रेडिङले जनाएका छन् । कृषि सामाग्री तुलसीपुर शाखाका अनुसार गत वर्ष कार्यालयबाट युरिया एक हजार ९३८.०५० मेट्रिकटन , डीएपी एक हजार २३२. ७५० मेट्रिकटन, पोटास ५४.८०० मेट्रिकटन र कृषि चुन ४ मेट्रिकटन वितरण भएको थियो । यस आर्थिक वर्षको जेठ २१ गतेसम्म दुई हजार १५७.८५९ मेट्रिकटन, डीएपी एक हजार ११८ मेट्रिकटन, पोटास, ५२.७५० मेट्रिकटन र कृषि चुन ३१.१०० मेट्रिकटन वितरण भएको शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए ।

उनका अनुसार अहिले पनि मल आउने क्रम जारी रहेको हुँदा मलको अभाव हुँदैन । यस्तै उनले गत वर्षको तुलनामा यस पटक अहिले धेरै मल वितरण भएको र अझै एक महिना बाँकी हुँदा किसानहरूले मल सहज रुपमा पाउने समेत बताए । शाखाले तुलसीपुर उपमहानगरपालिका, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिका र सल्यान जिल्लामा मल वितरण गर्ने गरेको उनले बताए । जसमा यस पटक दाङमा युरिया एक हजार ८९३.०५० मेट्रिकटन, डीएपी ९८५.८०० मेट्रिकटन, पोटास ३४.७५० मेट्रिकटन, कृषि चुन २४.८५० मेट्रिकटन वितरण भएको समेत उनले बताए ।

यस्तै सल्यानमा युरिया २६४.८०० मेट्रिकटन, डीएपी १३२.२००, पोटास १८ मेट्रिकटन, कृषि चुन ६.२५० मेट्रिकटन वितरण गरिएको छ । शाखा प्रमुख न्यौपानेका अनुसार किसानहरूलाई रासायनिक मल प्रयोगका बारेमा बुझाउनु पर्ने बताए । उनले अहिले किसानहरूले जति पाए पनि मल लग्ने हुँदा धेरै मल प्रयोगले माटोलाई असर गर्ने समेत बताए । उनले भने,‘ शुरुमा धान रोप्ने बेला किसानहरूले युरिया र डीएपी मिलाएर प्रयोग गर्ने पाइन्छ । शुरुमा युरिया प्रयोग गर्नु हुँदैन । डीएपीले युरियाको काम गर्छ । पानी पनि धेरै हुँदा त्यो बगेर खेरा जान्छ । यो कुरा किसानहरूलाई बुझाउन जरुरी छ ।’

यस्तै साल्ट ट्रेडिङ दाङका प्रमुख रामबाबु गुप्ताका अनुसार यस पटक मल गत वर्षको जस्तो अभाव हुँदैन । गत वर्ष युरिया ६२ हजार बढि बोरा र डीएपी २५ हजार बढि बोरा बिक्री भएकोमा यस वर्षको अहिलेसम्म युरिया ६३ हजार बढि डिएपी ४० हजार बढि बिक्री भएको उनको भनाइ छ । उनले विगतका वर्षहरूमा किसानहरूले मल समय पाउँछन् की पाउँदैनन्, भन्ने प्रश्न उठिरहेको अवस्थामा यस त्यसो नहुने बताए । उनका अनुसार कम्पनीलाई ३० प्रतिशत मल आउने र अहिले पनि मल आउने क्रम जारी रहेको हुँदा यस पटक मलको अभाव हुँदैन । कार्यालयले घोराही उपमहानगरपालिका, बंगलाचुली, रोल्पा र पूर्वी रुकुममा वितरण गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस