२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

मुहार फेर्दै विरेन्द्र मावि हेकुली

दाङ, १९ असार । दाङको दंगीशरण गाउँपालिका–३ मा पर्छ विरेन्द्र माध्यामिक विद्यालय हेकुली । जुन विद्यालयको स्थापना वि।सं। २०२२ सालमा भएको थियो । विगत केही वर्षयता विद्यालयमा विद्यार्थीको संख्या न्यून थियो । वि.सं. २०७४र०७५ साल तिर करिब ३ सयको हाराहारीमा रहेको विद्यार्थी संख्या बढेर अहिले १ हजारमाथी पुगेको छ । २०७५ साल असार महिनादेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी खिमराज खनालले सम्हालेपछि विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको हो । विद्यार्थीको संख्या मात्रै होइन अहिले विद्यालयमा भौतिक संरचनादेखि शैक्षिक गुणस्तरमासमेत वृद्धि भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॐनारायण चौधरीका अनुसार समग्रमा विद्यालय अहिले नमुना विद्यालयको रुपमा विकास भइरहेको छ । अहिले विद्यालय नमुना विद्यालयको अवधारणा अनुसार अगाडि बढिरहेको छ । उनले भने ।–‘पछिल्लो समय विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वासपनि बढ्दै गएको छ । ९ देखी १२ सम्मको कक्षामा विद्यार्थीको चाप झन धेरै बढेको छ । साच्चिकै नमुना विद्यालय घोषणा गर्नका लागी निश्चित मापदण्ड पुरा गर्नुपर्ने हुन्छ, हामी त्यसको नजिकै पुगिसकेका छौं’ । विद्यालयले जोन्टा क्लब काठमाडौंसँग समन्वय गरेर टाढाबाट आउने विद्यार्थीहरुलाई साइकल वितरण गरेपछी झनै सहज भएको उनले बताएका छन । विद्यालयले टाँढाबाट आउने विद्यार्थीको सहजताका लागी ४० जना छात्राहरूलाई साइकल वितरण गरेपछी सहज भएको भन्दै घर टाँढा भएकै कारण नियमित विद्यालय आउन नसक्ने विद्यार्थीहरु अहिले नियमित रुपमा विद्यालय आइरहेकाले उनीहरुको सिकाइ पनि प्रभावकारी हुदै गएको उनको भनाई छ । कक्षा ६ देखी ८ सम्म हरेक कक्षामा २र२ वटा सेक्सन र कक्षा ९ देखि १२ सम्म ३र३ वटा सेक्सन बनाएर पठनपाठन भइरहेको उनले बताएका छन ।

अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ भइरहेको छ भने विद्यालयले अहिले प्रविधिमैत्री शिक्षालाई विशेष जोड लिएर अगाडि बढिरहेको छ । अहिले कक्षा ६ देखि १२ सम्म हरेक कक्षाकोठामा स्मार्टबोर्ड जडान गरिएको छ । कुनै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले स्मार्टबोर्ड मार्फत आफैं सिक्न सक्ने गरी व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक खिमराज खनालले बताएका छन । विद्यालयमा विगत र अहिलेलाई तुलनात्मक रूपले हेर्दा पनि धेरै परिवर्तन भएको छ । ‘उनले भने ।–‘चाहे त्यो भौतिक संरचनाको क्षेत्रमा होस् या शैक्षिक क्षेत्रमा, पहिले थोरै विद्यार्थी हुँदापनि कक्षा कोठा अभाव थियो । त्यसले गर्दा साँघुरा कोठामा बस्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यो अवस्था अन्त्य भएको छ । विद्यार्थीहरुले सहज रुपमा पढ्न पाइरहेका छन् । जस्ता पाताले छाएको भवनमा बसेर पढ्न बाध्य विद्यार्थीहरू अहिले खुल्ला र पक्की भवनमा बसेर पढिरहेको छन् । विद्यालयका शिक्षक स्टाफलगाएत सबैको अथक प्रयास र मेहनतले गर्दा विद्यालय यो अवस्थामा आएको छ । समग्रमा हेर्दा विद्यालयले अहिले भौतिक र शैक्षिक दुबै क्षेत्रमा फड्को मारिरहेको छ’ । शिक्षण सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने कक्षा कोठाको अवस्था राम्रो नहुदाँ विगतमा धेरै समस्या भोगेपनि अहिले प्रत्येक कक्षा कोठामा पंखा र सिसिटिभी जडान गरिएको उनले बताएका छन । पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागी थुप्रै सकारात्मक कामहरू गरेकाले पनि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको विश्वास बढ्दै गएको उनको भनाई छ । यसले गर्दा विद्यालयमा बर्सेनी ठुलो सङ्ख्यामा नयाँ विद्यार्थीहरू आउने गरेका छन् । बाहिरबाट आउने विद्यार्थीहरूका लागी इन्ट्रान्सको व्यवस्था रहेकाले पास हुनेले मात्रै वीरेन्द्र मावि हेकुलीमा पढ्न पाउने गरेका छन् । यो वर्षलाई विद्यालयले शैक्षिक गुणस्तरको वर्षका रुपमा समेत लिएको छ । दंगीशरण गाउँपालिकाको केन्द्रमा रहेको वीरेन्द्र मावि हेकुलीले शिक्षा क्षेत्रमा ठुलो उपलब्धि हासिल गरिसकेको स्थानियहरु बताँउछन् ।

 विद्यालयले शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आएको छ । विगत ४ बर्षदेखी लगातार रुपमा रनिङशिल्ड हात पार्दै आएको विद्यालयका सूचना अधिकारी प्रदिप चन्दले जानकारी दिएका छन । उनका अनुसार गाउँपालिका भरी कतैपनि विज्ञान विषय पढाई नहुने भएकाले विद्यार्थीहरू बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले यो बर्षदेखी विद्यालयले विज्ञान विषय पनि पढाउन सुरु गर्दै छ । यसले गर्दापनि विद्यालयमा विद्यार्थीको संख्या अझै बढ्न सक्ने विद्यालयको अनुमान छ । कक्षा ११र१२ मा पहिले सामान्य शिक्षा विषय मात्रै पढाई हुने गरेकोमा विस्तारै व्यवस्थापनतर्फ पढाई हुदै अहिले यसवर्ष देखी विज्ञान विषयको पनि पठनपाठन अगाडि बढाउने तयारी भइरहेको छ । यसका लागी आवश्यक शिक्षकको पनि व्यवस्था मिलाइने भएको छ । यसअघि कम्प्युटर विज्ञान, लेखा विधि, अर्थशास्त्र, व्यवसायिक अध्ययन, ऐच्छिक अंग्रेजी, ऐच्छिक नेपाली, स्वास्थ्य तथा शारिरीक शिक्षा, बाल विकास र सिकाइ लगायत विद्यार्थीको रुचि अनुसारका विषयहरू अध्ययन अध्यापनको काम भइरहेको उनले बताए । विद्यालयमा अन्य नयाँ केही भवनहरु बन्ने प्रकृयामा रहेकाले पनि तत्काललाई भौतिक संरचनाको कुनै समस्या नरहेको विद्यालयको दाबी छ । अहिले १ हजार भन्दा धेरै विद्यार्थीले अध्ययन गरिहेको भन्दै अबको केही वर्षमा करिब १५०० विद्यार्थी पुर्याउने उद्देश्यसहित शैक्षिक गुणस्तर वृद्धिमा विद्यालय अगाडि बढिरहेको छ । उनका अनुसार यो वर्षको नयाँ शैक्षिक सत्रमा मात्रै विद्यालयमा डेढ सयको हाराहारीमा नयाँ विद्यार्थीहरू थपिएका छन् ।

आगामी दिनमा अझै थप विषयहरूमा पढाई अगाडि बढाउदा थप शिक्षकको आवश्यकता पर्ने भएकाले यसमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ । विशेषगरी विद्यालयलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्ने गरी अगाडि बढेको विद्यालयले जनाएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगाएतसँग व्यापक रुपमा छलफल गरेर सोही अनुसार काम गरिरहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकलगाएतले आफ्ना छोराछोरीहरूलाई यही विद्यालयमा पढाउने गरी अगाडि बढेको उनले बताए । उनका अनुसार गाउँपालिका भित्रका अथवा पायक पर्नेहरूले भने छोराछोरीलाई विरेन्द्र माविमै भर्ना गरिरहेका छन् । विद्यालयको शैक्षिक अवस्थामा कुनै शंका नभएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई वीरेन्द्र माविमा भर्ना गर्न पनि विद्यालयले सबै अभिभावकहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस