२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

सोमबार रातिदेखि सबै सरकारी खाता बन्द हुने

काठमाण्डौ, २३ असार । सोमवार मध्यरातिदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिएका हुन । सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुने प्रवक्ता रिजालले बताएका हुन ।

सङ्घ, प्रदेश तथा पालिकाको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलि सम्ममा चालू आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक हप्ताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखापरीक्षकको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस