२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

गुम्बा क्षेत्रमा उछृङकल गतिविधि बढेपछि  सुरक्षाको माग

दाङ, ३ साउन । तुलसीपुर उपमहानगरपालिका – ९ र ३ को सीमानामा पर्ने गुम्बा क्षेत्रमा उच्छृङ्खल गतिविधि बढेको भन्दै गुम्बा व्यवस्थापन समितिले सुरक्षाको माग गरेको छ । गुम्बाका संस्थापक अध्यक्ष मोहनकुमार गुरुङले  रातिको समयमा अपरिचित ब्यक्तिले तीन ठाउँमा तारबार काटेको बताए । तीन फरक फरक ठाउँमा झन्डै दुई अढाइ मिटरको तारजाली काटेर क्षति गरिएको उनले बताए । गुम्बा भित्र अल्लारे किशोर किशोरीका अश्लिल गतिविधि बढेको हुँदा व्यवस्थापन समितिले निर्णय गरि पछिल्लो समय बिहान ६ बजेदेखि बलुका ६ बजेसम्म मात्रै गुम्बा भित्र प्रवेश गर्न पाउने नियम बनाएको छ । ‘

यहाँ रातको समयमा अल्लारे किशोर किशोरी आउने उनीहरूले लागू औषध समेत सेवन गर्ने हुँदा सुरक्षा चाहिएको हो,’ उनले भने ‘ त्यसको असर स्थानीय किशोर किशोरीमा पर्न थालेको हुँदा चिन्ता गर्नु परेको हो ।’ यसअघि गत जेठ ३० गते गुम्बाको ढोका फोडेर भित्र प्रवेश गरि चोरले दानपेटिका पैसा चोरेर लगेको थियो । त्यतिखेर चोरले दानपेटी फोडेर झन्डै ४० हजार बराबर रकम लगेको अनुमान अध्यक्ष गुरुङले गरे । घटनाबारे गुम्बा चालक समितिले प्रहरीलाई सूचना दिएपनि हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परि सकेका छैनन् । 

पछिल्लो समय गुम्बा क्षेत्र भित्र प्रवेश गरि आफूहरू व्यवसायिक रुपमा फोटो खिचेर कमाउन पाउनु पर्छ भन्ने केही युवाहरूका कारण पनि केही समस्या आउन थालेको चालक समितिहरू बताउँछन् । त्यस्तै व्यक्तिगत स्वार्थ राख्ने एकाध केही स्वार्थी जमातले गुम्बाको बारेमा अफबाह फैलाउने धार्मिक तथा पर्यटकीय क्षेत्रको बदनाम गर्ने गरि सामाजिक सञ्जालहरूमा पोस्टहरू राख्न थालेको प्रति पनि सहचालक समितिका अध्यक्ष गुरुङले रोष प्रकट गरे । यहाँको गुम्बा जेठ १० गते बुद्धजयन्तीको अवसरमा नेपाली काँग्रेसका नेता तथा यसअघिका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरेका थिए ।

यहाँको गुम्बा निर्माणको लागि काँग्रेस सांसद चौधरीको पहलमा लुम्बिनी सरकारबाट झन्डै पौने करोड र तुलसीपुर उपमहानगरपालिकाको झन्डै २५ लाख खर्च भएको थियो । सालका रूख  विरुवा सहितको तुलसीपुर बजार स्पष्ट नियाल्न मिल्ने दमारगाउँ को डाँडो क्षेत्रको करिब तीन हजार दुई सय २६ वर्गमिटर क्षेत्रफलमा तारबार गरिएको छ । विगतदेखि नै गुम्बा सहचालक समितिले यो जग्गा उपयोग गर्दै आएको थियो । यो गुम्बाले तुलसीपुर क्षेत्रको एक सुन्दर पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै गएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस