
दाङ, ७ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याब कल्चर सेवा शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको ५२ लाख सहयोगमा सेवा शुरु भएको छ । यो सेवा नहुँदा बिरामीहरूलाई रिपोर्टको लागि बाहिर पठाउनु पर्ने बाध्यता थियो । अस्पतालले प्रयोगशाला पनि स्थानान्तरण गरेको छ । पहिले प्रयोगशाला भएको ठाउँ सानो र साँघुरो हुँदा सेवा लिन र दिन समेत समस्या हुँदै आएको थियो । अब भने सेवा सहज हुने र बिरामीले पनि अन्य प्रयोग शालाको लागि बाहिर जानु पर्ने अस्पतालको भनाइ छ । ल्याब कल्चर सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले आइतबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले नयाँ सेवा शुरु भएसँगै नागरिकहरूले सहज रुपमा सेवा पाउने विश्वास गरे । उनले भने,‘ प्रदेशमा दुई वटा प्रादेशिक अस्पतालहरू रहेका छन् । यि दुई वटामा हामीहरूले ध्यान नदिए अरुमा ध्यान दिन उपयुक्त हुँदैन । मैले यस अस्पताललाई विशेष ध्यान दिएको थिए ।’ उनले अस्पतालमा धेरै समस्याहरू रहेको र जुन उद्देश्यका साथ स्थापना गरिएको थियो, त्यो अनुसार नभएको भन्दै अस्पताल पछाडि परेको समेत बताए । उनले केन्द्र सरकार परिवर्तन हुँदा प्रदेश सरकारमा पनि हुने भएकाले आफू स्वास्थ्यमन्त्री भएको एक सय बढि दिन भएको भन्दै यस आर्थिक वर्षदेखि फरक ढङ्गले स्वास्थ्य क्षेत्रलाई लैजाने सोच बनाएको भएयता पनि त्यसो गर्न नपाएको बताए । उनले भने,‘ जो आएपछि प्रदेशको स्वास्थ्य मन्त्री आउने हो ? जुन आउनु हुन्छ, उहाँलाई मैले यहाँको समस्याको बारेमा सम्प्रेषण गर्ने प्रतिवद्धता जनाउँछु ।’
स्वास्थ्य क्षेत्र भनेको संवेदनशील क्षेत्र भएको भन्दै उनले यसको जिम्मा लिएकाहरूले संवेदनशीलता पूर्वक काम गर्न आग्रह गरे । अस्पतालमा धेरै समस्या रहेको रहेको भन्दै उनले आफू जाँदै गरेको मन्त्रीले गर्दा त्यति राम्रो नहुने भन्दै अब आउने मन्त्रीलाई जानकारी गराउने समेत बताए । उनले भने,‘ यहाँको मुख्य समस्या भनेको भएको जनशक्तिलाई व्यवस्थित परिचालन गर्न समस्या छ । समय व्यवस्थापनको समस्या रहेको छ । म मन्त्री भएको सवा सय दिन प्रदेशको आधारभूत स्वास्थ्य क्षेत्रको आधारभूत कुरा बुझेर बसेको थिए । ’अस्पतालले कल्चर सेवासँगै प्रयोगशालालाई पहिलो तलाबाट दोस्रो तलमा सारेपछि अब सबै कुराको सहज हुने ल्याब इन्चार्ज जयप्रकाश वलीले बताए ।
अहिले ठाउँ खुला रहेको र प्रयोगशालाहरू पनि छुट्टाछुट्टै रहेको हुँदा काम गर्न सहज हुने उनको भनाइ थियो । उनका अनुसार अब ब्लड कल्चर, युरिन कल्चर, स्टुन कल्चर सेवा प्रदान हुन्छ । कल्चरसँगै अन्य प्रयोग शालाको लागि नयाँ उपकरणहरू थपिएको भन्दै अझ सेवा प्रवाहमा सहज हुने बताए । उनले भने,‘ हामीले थाइराइडको आज जाँच गर्दा भोलि रिपोर्ट दिनु पर्ने बाध्यता थियो । अहिले थप दुई वटा उपकरण थपिएसँगै अब एक दिनमा ५० जनासम्मको रिपोर्ट दिनसक्छौ ।’ यस्तै अहिले प्याथोलोजिष्ट भएको भन्दै पहिला रिपोर्टको लागि बाहिर पढाउनु पर्ने भएयता पनि अब यहिबाट रिपोर्ट दिने समेत बताए ।
यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले सानो भएपनि महत्वपूर्ण सेवा अस्पतालमा शुरु भएको बताए । उनले ल्याबको पनि स्तरउन्नती गरेर सहज रुपमा काम गर्ने ठाउँमा संचालन गरेको बताए । उननले अस्पतालाई २ सय बेडको बनाउने भनेर ७५ प्रतिशत प्रक्रिया पुरा भएर अर्थमन्त्रालयमा फाइल रोकिएको भन्दै पहलकदमी गर्न जरुरी रहेको समेत बताए । अस्पतालमा धेरै समस्याहरू रहेको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए । सबैभन्दा मुख्य कुरा जनशक्ति व्यवस्थापन भएको भन्दै उहाँले जनशक्ति नहुँदासम्म अन्य स्रोतहरूको खासै अर्थ नहुने बताए ।