पोखरा, १४ साउन । पोखरामा बिहान भएको बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि मृत्यु भएको हो । दुर्घटनामा घाइते उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।
बसमा सवार अन्य घाइतेहरूको पोखराका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस सडकबाट झन्डै ५० मिटर तल खसेको थियो । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी २३ जना सवार रहेको बताइएको छ । बस दुर्घटना लगत्तै घाइतेहरुलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा लगिएको हो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।