२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

सुत्केरीलाई भाले उपहार

दाङ, १४ साउन । तुलसीपुर उपमहानगरपालिका ११ को वडा कार्यालयले सोमबारदेखि सुत्केरीलाई भाले उपहार दिन सुरु गरेको छ । सोमबार आफ्नो पहिलो सन्तान छोरीलाई जन्म दिएकी तुलसीपुर – ११ हस्नापुरकी सृजना खड्का वली र दोस्रो सन्तानको रुपमा सोमबार नै छोरालाई जन्म दिएकी तुलसीपुर – ११ बेलटाकुराकी लक्ष्मी चौधरीलाई एक / एक वटा भाले उपहारसहित प्रदान गरिएको हो । वडाध्यक्ष मानबहादुर रावतसहित कर्मचारी बेलटाकुरास्थित उरहरी स्वास्थ्य चौकीमा आफै पुगेर सुत्केरीलाई पहिलो पटक भाले उपहार प्रदान गरिएको हो । सुत्केरी  प्रोत्साहन अन्तरगत यो आर्थिक वर्षदेखि वडा कार्यालयले डेढ लाख बिनियोजन गरेको छ ।

२० वर्ष पछि बिहे गरेका तथा २० वर्ष भन्दा माथिका सुत्केरी महिला र आठ पटक स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गराएका महिलालाई यस्तो भाले उपहार दिने नीति वडा कार्यालयले अख्तियार गरेको छ । गर्भवती महिला नियमित आफ्नो स्वास्थ्य चेकजाँच गराउन जाउन् र सुत्केरी भइ सकेपछि उनीहरूको कमजोर शरीरले पौष्टिक आहारा  पाओस् भन्ने उद्देश्यका साथ सुत्केरीलाई भाले उपहार दिने योजना अघि सारिएको वडाध्यक्ष रावतले बताए ।

‘ हामीले एक जना सुत्केरीलाई एक हजार पाँच सय बराबरको भाले खरिद गरि उपहार स्वरुप दिने नीति अघि सारेका छौँ,’ रावतले भने ‘ भनेकै मूल्यको भाले मिलेन भने बचेको पैसा हामी सुत्केरीलाई नै प्रदान गर्छौं ।’ यो वडा कार्यालयले अबदेखि वडाका कुनैपनि मानिसको मृत्यु पछि क्रियापुत्रीका लागि एक केजी घिउ पनि दिने नीति अख्तियार गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस