२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

बबईमा फेला पर्यो खड्काको शब

दाङ, २० साउन । दाङको तुलसीपुर उपमहानगरपालिका – ४ स्थित ‘नवलपुर ठूलो खोला’ तर्ने क्रममा अटोसहित बगेर बेपत्ता भएकी १७ बर्षीया मञ्जु खड्काको शब बबई नदीमा फेला परेको छ ।

शुक्रबार बेलुका बगेर बेपत्ता खड्काको शब आइतबार बिहान बबई गाउँपालिका – ५ खैरभट्टी भन्ने ठाउँमा फेला परेको हो ।

मञ्जु अध्यनका लागि भनेर एक महिना पहिले मात्रै दाङको तुलसीपुर आएकी थिइन । गोरखा माविको कक्षा ११ मा भर्ना भएकी उनी बिज्ञान बिषय पढ्दै थिइन । उनको घर सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका – १४ तेप्तेकाँडा हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घटनास्थल भन्दा झन्डै ५० किलोमिटर टाढा उनको शब फेला परेको हो ।

मञ्जुकी आमा ममता खड्काले शबको पहिचान गरेकी हुन ।शुक्रबार बेलुका करिब पौने ७ बजेतिर तुलसीुपर – ४ खाद्रेस्थित मामा घर जाने क्रममा उनकी माउली घरकी हजुर आमा ५५ बर्षीया सीता आलेको पनि संगै बगेर मृत्यु भएको थियो ।

आलेको शब दोस्रो दिन शनिबार बिहान तुलसीपुर – १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको थियो । त्यो घटनास्थल भन्दा झन्डै १५ किलोमिटर टाढा थियो ।शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर– ४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले बगाएको थियो ।

सीताकी बुहारी ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने जोगिन सफल भएका थिए । खाद्रेकै अटो चालक ४६ बर्षीय हरिकिशन बिकपनि अटो संगै बाढीमा बगेका थिए । झन्डै एक सय मिटर बगेपछि उनलाई स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस