२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

पत्रकार महासंघ दाङमा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना

दाङ, ४ भदौ । नेपाल पत्रकार महासंघ दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । केन्द्रको मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेका छन् ।

पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरुमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारहरुको वौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई निरन्तरता र विकास गरेर लैजानुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले अहिले राज्यको प्राथमिकतामा पत्रकारिता नभएको उल्लेख गर्दै राज्य अहिले प्रेस स्वतन्त्रतामैत्री कानुन समेत बनाउन झस्किरहेको बताए । उनले राज्यले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने र संकुचित कानुन बनाउने खतरा रहेको भन्दै यसमा पत्रकार महासंघलगायत पत्रकारहरु चनाखो हुनुपर्ने बताए ।

महासंघ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु केपी मसाल, सुशील गौतम, सल्लाहकारहरु सुदीप गौतम, सविन प्रियासन, लक्ष्मी आचार्य, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी दाङका निवर्तमान अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका लम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए । अनुसन्धान केन्द्रमा पत्रकारिता सम्बन्धि अध्ययन गर्नका लागि विभिन्न पुस्तकहरु राखिएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस