दाङ, २७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रकृया मिचेर सूचना तथा संचार प्रविधिको सफ्टवेयर खरिदमा लाखौको चलखेल गरेको तथ्य बाहिर आएको छ ।
पन्ध्र हजार रुपैयाँ बराबरको लोककल्याणकारी विज्ञापनको सार्वजनिक सूचना प्रकाशन गर्ने उपमहानगरले कोटेसनमा ४० लाखको सामान खरिद गरेपछि यस्तो तथ्य बाहिर आएको हो । यसको मुख्य योजनाकार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी भएको स्रोतले बताएको छ ।
उपमहानगरले दलित समुदायको विवरण सङ्कलन गरि प्रोफाइल तयार पार्नका लागि दुई लाख २५ हजारको सूचना २०८१ जेठ १७ गते अर्को प्रकाशित गरेको थियो । त्यसैगरी २०८१ साउन १७ गते पन्ध्र हजार बराबरको लोककल्याणकारी विज्ञापनको अर्को सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
तर ४० लाख २ हजार ८ सय २२ रुपैयाँको सूचना तथा सञ्चार प्रविधिको सामान, प्रमुख प्रशासकीय अधिकृत डाँगीले हतार हतारमा कोटेशन मार्फत खरिद गरेर दिउँसै रात पार्ने काम गरेको कर्मचारीहरू बताउँछन् । यसबाट डाँगीले लाखौ रुपैयाँ कुम्लाएका स्रोतको दाबी छ । यसका लागि डाँगीले मेयर टिकाराम खड्कालाई पूर्णरुपमा प्रयोग गरेको देखिन्छ । सुरु सुरुमा आफूलाई आर्थिक मितव्ययी देखाउन खोजेका प्रमुख प्रशासकीय अधिकृत डाँगीको पछिल्लो कदमले उनको स्वभाव उदाङ्गो पारिदिएको छ ।