दाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाको २५ औं कार्यपालिका बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
उपमहानगरपालिकाका प्रमुख टीका राम खड्काको अध्यक्षतामा बसेको बैठकले २२ वटा एजेन्डा अगाडि सारेको थियो तर बिचमा केहि एजेन्डा थपेर २८ वटा एजेन्डामा छलफल गरिएको र २५ वटा एजेन्डामा निर्णय गरिएको प्रभक्ता माधव वली बताउनु भएको हो ।
बैठकमा सबैभन्दा महत्त्वपूर्ण विषय प्रविधि तथा सफ्टवेयर खरिद सम्बन्धमा सौहार्दपूर्ण छलफल गरी निर्णय गरेको प्रवक्ता वलीले बताएका हुन । विभिन्न एजेन्डाहरुमा छलफल गर्न बसेको बैठकमा अधिकांश समय प्रविधि तथा सफ्टवेयर सामान खरिद अगाबै रकम भुक्तानी गरेको विषयले लिएको थियो तर बैठकले यो विषयमा छानविन समिति गठन गरिएको र त्यो छानबिन समितिले गठन भैसके पछि आफू धेरै त्यो बिसयमा बोल्न नपर्ने उनले बताए ।
बैठकमा पाँचवटा प्रतिवेदनहरू प्रमाणीकरण भएका छन् । जसमा नवीकरणीय ऊर्जा नीति २०८१मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०८१ टोल विकास संस्था सञ्चालन कार्यविधि २०८१ वित्तीय साक्षरता रणनीति २०८१ र २०८६, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रतिवेदन २०८० रहेका छन् ।
यसैगरी औद्योगिक ग्राममा चिस्यान केन्द्र स्थापना गर्ने, अटोभारा निर्धारण गर्ने, सहयोगी कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने सम्बन्धमा र हाईमस्ट लाईट सञ्चालन गर्ने लगायतका विषयहरूमा छलफल गरी निर्णय गरेको समेत उनले बताएका हुन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा ६ तरकारी बजारदेखि गाइडहर जोड्ने निर्माणाधीन मदन भण्डारी सडकको विषयलाई लिएर सोही वडाका वडा अध्यक्ष दुजमान भण्डारी र वडासदस्य यमराज केसीलाई धम्की दिने व्यक्ति विरुद्ध तुलसीपुर उपमहानगरपालिकाले मुद्दा लड्ने समेत निर्णय भएको प्रभक्ता वलीले वताएका हुन ।
तर बैठकको बीचबाटै वडाध्यक्षहरुले बैठक बहिष्कार गरेर जानु र उप महानगरपालिकाको प्राङ्गणमा एजेण्डाको कपी च्यातेर फाल्नु बैठक सौहार्दपूर्ण नभएको बुझिन्छ । वडा नम्बर ५ र ९ का वडा अध्यक्षहरू क्रमशः वीरेन्द्र कुमार शाह र घनश्याम ढकालले दिउँसो २ बजे बैठक बहिष्कार गरी निस्किएका थिए ।