दाङ, १८ पुष । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका १५ हजार बालकबालिकाको पोषण अवस्थाको जाँच गर्न सुरु गरेको छ । गैह्र सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखि ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ । पोषण जाँचको एक समारोहका बीच बुधबार वडा नम्वर १० बाट सुरु गरिएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताए । पौष्टिक आहारा कमी भए कुपोषण लगायतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै उनले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताए ।
वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी, स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगायतकाले पौष्टिक सचेतनाका विषयमा बोलेका थिए ।