२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

तुलसीपुर महोत्सवमा काम गरेका मजदुरले पाएनन् पैसा

दाङ, २७ फागुन । दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवबाट मजदुरहरू आफूहरू अहिलेसम्म पैसा नपाएको गुनासो गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा यही फागुन १ गते देखी १७ गतेसम्म सञ्चालन भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा स्टल बनाउने काम गरेका मजदुरसरह अहिलेसम्म पैसा नपाएको गुनासो गरेका हुन् । तुलसीपुर चेम्बर अफ कमर्सले १० जना मजदुरको झण्डै साढे ३२ लाख रुपैयाँ दिन बाकी रहेको पीडितहरूले मङ्गलवार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा धेरै  पीडित गणेश प्रसाद पन्थीले आफ्नो मात्रै १५ लाख रुपैयाँ पाउन बाकी रहेको बताए । कपिलवस्तुको शिवराज नगरपालिका ५ का पन्थीले महोत्सवमा झण्डै ५ सय ३६ वटा स्टल निर्माण लगायतको गरी १६ लाख रुपैयाँमा सम्झौता भएपनि १ लाख मात्रै पाएको बताए । अन्य १५ लाख रुपैयाँ नपाएपछि दिलाइ दिनका लागी प्रहरी प्रशासनमा धाए नि कुनै सुनवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेको भन्दै उनले बताए । पहिले महोत्सव नसकिदै सबै रकम दिने सहमति भएपनि अहिले महोत्सव सकिएको १० दिन बितिसक्दा समेत आफूहरूले पैसा नपाएको पीडितहरूको गुनासो छ ।

महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले पनि यस विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको उनीहरूले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाबाट चेम्बरले महोत्सव सञ्चालनका लागी अनुमति पाएपनि बिचमा विभिन्न ठेकेदारको कब्जामा महोत्सव गएपछि अहिले मजदुरहरूको बिचल्ली हुने अवस्था आएको हो । चेम्बरले अन्य ठेकेदारलाई महोत्सव ठेक्कामा दिएकाले कामदारहरूले ठेकेदारसँग नै सम्झौता गरेका थिए । तर, अहिले ठेकेदार सम्पर्कविहीन भएपछि कामदारहरू अन्योलमा परेका छन् ।

बाहिर जिल्ला काठमाडौँ र सुर्खेतका ठेकेदार भरत वली र घनश्याम श्रेष्ठ अहिले सम्पर्कविहीन भएपछि ठेकेदारसँग समन्वय गराइदिन आग्रह गर्दा चेम्बरका अध्यक्षले कुनै वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन् । आफूहरूले पैसा नपाउनुमा महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सकै ठुलो भूमिका रहेको भन्दै उनीहरूले तत्काल आफ्नो पैसा उपलब्ध गराउन माग गरेका छन् ।

चेम्बरले चाहेमा आफूहरूले पैसा पाउने सम्भावना रहेको भन्दै उनीहरूले चेम्बरले यसको जिम्मा लिनुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै रास्वपा लुम्बिनी प्रदेशका सदस्य भक्त डाँगीले तत्काल पीडितको पैसा फिर्ता गर्न माग गरे । महोत्सव सञ्चालनको जिम्मा लिएको चेम्बर अफ कमर्सले ठेकेदारलाई सिकाएर आफू पन्छिने काम गरिहेको भन्दै उनले कुनैपनि हालतमा पीडितले पैसा पाउनुपर्ने बताए । 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस