दाङ, २१ चैत । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि अबैध उत्खनन नियन्त्रण गर्ने क्रममा आक्रमण भएको छ । गयराति बेलुका ७ बजेको समयमा तुलसीपुर-१२, एयरपोर्ट नजिकै ग्वारखोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रयाक्टर नियन्त्रणमा लिने क्रममा नगर प्रहरीमाथी आक्रमण भएको हो ।
नगर प्रहरी असई संजय गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा.१.त. ४०२३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिन खोज्दा ट्रयाक्टर चालक तथा सवारीधनी लगायतका व्यक्तिहरुले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेका थिए । आक्रमण बाट नगर प्रहरी असई संजय गिरी र हवल्दार बिनोद रेउले घाइते भएका छन् । हाल उनीहरू उपचाररत रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नगर प्रमुखको सचिवालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घाइते नगर प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, आक्रमणमा संलग्न व्यक्तिहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।
नगर प्रहरीमाथि भएको आक्रमणले स्थानीय प्रशासन र सुरक्षा व्यवस्थाको संवेदनशीलतालाई उजागर गरेको छ । यस घटनाले अबैध उत्खनन रोक्न गरिएको प्रयासमा अपराधीहरूले कसरी हस्तक्षेप गरिरहेका छन् भन्ने देखाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र अर्का एक जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल सिंह ठकुरीले जानकारी दिएका हुन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।