दाङ, ४ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब प्रत्येक बुधबार जहाज आउने भएको छ । यस अघि १९ चैतमा टरिगाउँ विमानस्थलमा जहाज बसेको थियो । त्यसयता जहाज नियमित बस्न सकेको थिएन । एक जना पनि यात्रु नहुँदा बीच–बीचमा नियमित हुन नसकेपनि अब भने प्रत्येक बुधबार नियमित रुपमा जहाज उड्ने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिएका हुन ।
हालको भाडा न्यूनतम ७ हजार १ सय मात्रै कायम गरिएको छ । खास भाडा ८ हजार ७ सय ७५ रुपैँया भएपनि हाललाई ७ हजार एक सय मात्रै कायम गरिएको छ ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।
हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो ।