दाङ, २४ बैशाख । दाङमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ । दाङको राप्ती गाउँपालिका १ भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको ऐरावती गाउँपालिका २ बह्राखुट्टीकी २० वर्षीया सरिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलबार साँझ करिब ६ बजेतिर घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागूऔषध ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले पक्राउ गरेको हो । गाडीमा सवार सार्कीलाई रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । साथै प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।