२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

अर्गानिक खेती प्रवर्द्धन गर्न बीउ वितरण, किसानलाई उत्पादनमा जोडिन आग्रह

दाङ, १० असार । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा तथा मुक्त कमलहरीहरूको “ओजरार महिला कृषि सहकारी संस्था” को संयोजनमा किसानहरूलाई अर्गानिक खेतीप्रति प्रेरित गर्ने उद्देश्यले बीउ वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम ओजरार महिला कृषि सहकारीकी अध्यक्ष कमला चौधरीको अध्यक्षता, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता र वडा नं. १० का अध्यक्ष दीपक पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले अर्गानिक खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको बताउँदै, केन्द्रले उपलब्ध गराएको बेमौसमी तरकारीको बीउले किसानलाई सहज र व्यवस्थित रूपमा उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । “हामीले सहयोग गरेका किसानको खेतबारीमा हरियाली देख्दा मात्रै साँचो सन्तोष मिल्छ,” उनले भनिन्, “सहयोग गर्छौं, तर तपाईंहरूले पनि परिश्रम गर्न जरुरी छ ।”

वडा अध्यक्ष दीपक पाण्डेले राज्यले किसानको उत्पादन बजारसम्म पु¥याउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले सिँचाइ, बीउविजन, मल, चिस्यान केन्द्र र बजार व्यवस्थापनको अभावमा किसानहरू अझै पनि समस्या भोगिरहेको भन्दै सरकार र सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गरे ।

कार्यक्रममा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीराम रावतले जिल्लाका विभिन्न स्थानीय तहमा केन्द्रले अर्गानिक खेती प्रवर्द्धन गर्न तालिम तथा सहुलियतपूर्ण सहयोग प्रदान गर्दै आएको जानकारी दिए । उनले ओजरार महिला कृषि सहकारीमा आबद्ध किसानहरूलाई प्रतिव्यक्ति करिब १६ सय रुपैयाँ बराबरको तरकारी बीउविजन वितरण गरिएको बताए ।

बीउ वितरण कार्यक्रममार्फत घोराही उपमहानगरपालिका वडा नं. ८, ९, १० र १२ का किसानहरूलाई विभिन्न जातका तरकारी बीउ प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस