२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाखको बजेट सार्वजनिक गर्‍यो

दाङ, १० असार । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले १९औं गाउँसभाको दोस्रो बैठकमा बजेट सभासमक्ष प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले संघीय सरकारबाट ३७ करोड ८२ लाख ५३ हजार ३८३ रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ९ लाख ९७ हजार १०० रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । संघीय सरकारबाट प्राप्त हुने बजेटमा वित्तीय समानीकरण अन्तर्गत ९ करोड ५० लाख, सशर्त अनुदान १७ करोड २६ लाख, राजस्व बाँडफाँट ९ करोड ४० लाख ५३ हजार ३८३, समपुरक अनुदान ९७ लाख र विशेष अनुदान ६९ लाख रुपैयाँ छन् ।

प्रदेश सरकारबाट भने वित्तीय समानीकरण अन्तर्गत ६३ लाख ३८ हजार, सशर्त अनुदान ७५ लाख, विशेष अनुदान १८ लाख, समपुरक अनुदान ७५ लाख र राजस्व बाँडफाँटबाट ७८ लाख ५९ हजार १०० रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

त्यस्तै, आन्तरिक आम्दानीतर्फ ८० लाख ५० हजार ४००, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४० लाख र नदीजन्य पदार्थ बिक्री वितरणबाट ३५ लाख गरी १ करोड ५५ लाख ५० हजार ४०० रुपैयाँ आम्दानीको प्रक्षेपण गरिएको छ । यस्तै, बैंक मौज्दात तथा बचततर्फ २ करोड ६३ लाख ४० हजार ११७ रुपैयाँ हुने अनुमान गरिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष बजेटको विनियोजनमा केही हेरफेर गरिएको छ । चालू तर्फ ६१ प्रतिशत र पुँजीगत तर्फ ३८.३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । चालू खर्चतर्फ २७ करोड ७९ लाख ४१ हजार ४२० र पुँजीगत तर्फ १७ करोड ३१ लाख ९९ हजार ५८० रुपैयाँ विनियोजन गरिएको छ ।

बैठकमा उपाध्यक्ष वलिले आर्थिक ऐन २०८२, आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम, विनियोजन ऐन २०८२, र मटवा प्रणाली संरक्षण, प्रवर्द्धन तथा विकाससम्बन्धी विधेयक पनि सभासमक्ष प्रस्तुत गरिन् ।

यसअघि, आइतबार बसेको पहिलो अधिवेशनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १९५ बुँदामा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँसभाको तेस्रो बैठक आगामी बिहीबार, असार १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस