दाङ, ९ साउन । नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको आयोजनामा, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको सहकार्य र विरेन्द्र माध्यमिक विद्यालय, तुलसीपुर–१, भ्युडहर सुनपुरको व्यवस्थापनमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान गरौं, आशा दिऔं, हामी सँगै जीवन बचाउँछौं’ भन्ने मूल नारासहित कार्यक्रम ५९औं रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजित गरिएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति देवा डाँगीको अध्यक्षता र जिल्ला शाखा दाङका उपसभापति तथा तुलसीपुर उपमहानगर जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका प्रमुख अतिथि केसीले सहभागीहरूलाई रेडक्रसको इतिहास, रक्त सञ्चार सेवाको स्थापना र यसको आवश्यकता, रक्तदानका फाइदा, रक्तदान गर्न मिल्ने तथा नमिल्ने अवस्था, रक्त समूहसम्बन्धी जानकारी लगायतका विषयमा मोटिभेसनल शैलीमा प्रशिक्षण दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले रेडक्रस उपशाखालाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बढाउने उल्लेख गरेका थिए । उनले विद्यालयमा पहिलोपटक भएको यो कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझावसमेत दिएका थिए ।
कार्यक्रम विद्यालयको जुनियर रेडक्रस सर्कल अध्यक्ष कोपिला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । त्यसक्रममा जु.रे.स. शिक्षक नायक मानबहादुर बुढा, शिक्षक लेखनाथ शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण उपशाखाका सदस्य केशर बहादुर ओलीले गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थी गरी ७५ जनाको सक्रिय सहभागिता रहेको थियो ।