२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

सायाँ स्किन एन्ड हेयर क्लिनिक घोराहीले तुलसीपुर मानव सेवा आश्रममा गर्यो स्किन स्वास्थ्य शिविर

दाङ, ३१ साउन । साया स्किन एन्ड हेयर क्लिनिक घोराहीको आयोजनामा  मानव सेवा आश्रम तुलसीपुरमा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको यस शिविरमा विशेषगरी सडकपेटीमा आश्रित तथा रात बिताउने व्यक्तिहरूमा बढी देखिने छालासम्बन्धी समस्यालाई लक्षित गरिएको थियो । क्लिनिकका सञ्चालक तथा प्रोप्राइटर युवराज बस्नेतका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत बेसहारा व्यक्तिहरूलाई छालासम्बन्धी जाँच–परीक्षण गरिने उद्देश्यले डा. सुमन सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले चेकजाँच गरेको हो ।

मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार सडकमा बाँच्न बाध्य भएकाहरूमा छालासम्बन्धी रोग बढी देखिन्छ । “फोहोरमै बस्ने, सडेगलेका खाना खाने, फोहोरको डङ्गुरमै सुत्ने भएकाले उनीहरूलाई छालाका समस्या बढी हुने गरेको हो,” उnले भने ।

बोल्न नसक्ने ६० वर्षीय आश्रित शेरबहादुरलाई उद्धारदेखि नै बोल्न नसक्ने अवस्थामा राखिएको छ भने उनको शरीरभरि खटिरा र घाउले रातभर सुत्न समेत गाह्रो हुने गरेको छ । विशेष गरी रातिको समयमा बढी चिलाउने पोल्ने समस्या छ । 

त्यस्तै, तुलसीपुरको गवारखोलाबाटउद्दार गरेका विक्रम डाँगीको शरीरमा घाउ र खटिरले भरिएको छ । जसका कारण डाँगीले निकै समस्या भोग्नु परिरहेको थियो । घाउबाट पानि निस्कने, चिलाउने फोका उठ्ने जस्ता समस्या छन् । 

आश्रयमा रहेका व्यक्तिहरूले विभिन्न रोगको उपचार पाएका भए पनि छालासम्बन्धी उपचार भने पर्याप्त मात्रामा नपाएका कारण यसपटकको शिविर विशेष महत्वको रहेको आश्रमका प्रमुख हिरू जोशीले बताएका हुन । चार वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पहिलोपटक छालाविज्ञ चिकित्सकले शिविरमार्फत स्वास्थ्य जाँच गरेका हुन् । हाल मानव सेवा आश्रम तुलसीपुरमा ७५ जना आश्रित बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस