दाङ, १० कार्तिक । नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा सोमबार तुलसीपुर उपमहानगरपालिका–११ कटाहामा जन्मजात अपाङ्गता भएका १८ वर्षीय थमन चौधरीलाई ह्विलचियर वितरण गरिएको छ ।
‘समाज सेवामा तरुण दल’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रम नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, काँग्रेसका अन्य नेताहरू, कार्यकर्ता तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अध्यक्ष घर्तीले नेपाल तरुण दल केवल राजनीतिक संगठन मात्र नभई समाजसेवामा पनि अग्रसर रहँदै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता सेवा मूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रमका वक्ताहरूले नेपाल तरुण दलको स्थापना दिवसले युवालाई जिम्मेवार, अनुशासित र सेवामुखी बन्न प्रेरणा दिने बताएका थिए ।