२०८२ फाल्गुन १९ गते मङ्गलवार | 2026 March 3rd Tuesday

कपुरकोट–कोइला सडकखण्डमा टिप्परको आवत–जावत पूर्णरूपमा रोक्ने निर्णय

सल्यान, २४ मंसिर । कपुरकोट–कोइला सडकखण्डमा अत्याधिक भारवहन (चुन्डुङ्गा) बोकेका टिप्परको आवत–जावत पूर्णरूपमा रोक्ने निर्णय सर्वसम्मतिमा पारित भएको छ ।

मिलन बजार व्यवस्थापन समिति र मिलन बजार युवा क्लबको संयुक्त बैठक आज मंसिर २४ गते सम्पन्न भएको हो । बैठकको अध्यक्षतामा बजार व्यवस्थापन समितिका अध्यक्ष अमर ब. वि.क., र विशेष अतिथिका रूपमा कपुरकोट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष होम बहादुर खड्का उपस्थित थियो ।

स्थानीय वासीले सडक जिर्ण, धुलाम्य र खाल्डाखुल्डीले बालबालिका, बजारबासी र पैदल यात्रीलाई असुविधा भएको भन्दै समस्या उठाउँदै आएका थिए । बैठकमा छलफल गर्दै समितिले सडक पुर्णरूपमा कालोपत्रे नभएसम्म अत्याधिक भारवहन टिप्परको आवत–जावत रोक्ने निर्णय गरिएको छ ।

मिलन बजार युवा क्लबका अध्यक्ष झलक वलीका अनुसार, विगतमा जिल्ला प्रशासन, स्थानीय सरकार, उद्योग र सरोकारवालाबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयन नभएकाले यस्तो कदम चालिएको हो ।

निर्णयको प्रतिलिपि जिल्ला प्रशासन, जिल्ला प्रहरी, कपुरकोट गाउँपालिका, प्रहरी चौकी र रोल्पा सिमेन्ट उद्योग प्रा.लि. लगायतलाई पठाइएको छ । समितिले स्थानीय जनजीवन र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न निर्णयको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस