दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–११ निवासी मोडल आशा विश्वकर्माले आफ्नो जन्मदिन मानव सेवा आश्रम दाङमा मनाएकी छन् । उनले आश्रममा आश्रित ८२ जनालाई बिहानको भोजन गराउँदै सामाजिक सेवामार्फत जन्मदिन मनाएकी हुन् ।
बुवा लालबहादुर बिक र आमा बिमली बिककी छोरी आशा विश्वकर्मा नेपाली गीत–संगीत तथा मोडलिङ क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेकी मोडल हुन् । उनको कर्मथलो काठमाडौँ भएतापनि हाल विशेष कामको सिलसिलामा गृह जिल्ला दाङ आएको अवसरमा नै उनले जन्मदिन यहीँ मनाएको जानकारी दिएकी छिन् ।
जन्मदिनको अवसरमा तडकभडकभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको उल्लेख गर्दै विश्वकर्माले आफू पनि गरिबीको परिवेशमा हुर्किएकाले असहाय, बेसहारा तथा पीडित व्यक्तिहरूप्रति सहयोगभावना स्वाभाविक रहेको बताइन् । कसैको दुःख–पीडा देख्दा चुप लागेर बस्न नसक्ने भएकाले सकेको सहयोग गर्ने उद्देश्यले मानव सेवा आश्रममा आएर जन्मदिन मनाएको उनले स्पष्ट पारिन् ।
मानवीय सेवामा सक्रिय मानव सेवा आश्रमले समाजका असहाय नागरिकहरूको संरक्षण र सेवामा उल्लेखनीय योगदान गर्दै आएको उल्लेख गर्दै विश्वकर्माले आश्रम परिवारप्रति आभार व्यक्त गरिन् । साथै, आगामी दिनहरूमा पनि सामाजिक र मानवीय कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।