२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

दाङ घोराहीबाट शुभमुहूर्तसंगै सुरु भयो चलचित्र ’मितज्यू’ को छायांकन

दाङ, ९ माघ । फिल्म ’घरज्वाइँ’ निर्माता जनक घर्ती मगर तथा निर्देशन अनिल बुढा मगरको दोस्रो सहकार्य प्रोजेक्ट ’मितज्यू’ को छायांकन दाङबाट सुरू भएको छ । आज शुक्रबार वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन शुभारम्भ गरिएको हो ।

सामाजिक कथावस्तुमा आधारित फिल्मको धार्मिक विधिपूर्वक पूजा गर्दै फिल्मको छायांकन थालिएको निर्माता जनक घर्ती मगरले बताएका हुन । दाङका विभिन्न स्थानमा १० दिनसम्म त्यसपश्चात लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा छायांकन हुने फिल्म ’मितज्यू’ को पूरा छायांकन सेडुल ३० दिनको रहेको छ ।

चर्चित मोडल तेरिया मगरको डेब्यु फिल्ममा तेरियाका अलवा दयाहाङ राई, सौगात मल्ल, पुस्कर गुरूङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरूण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ ।

यस फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन् । प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायाँकार शिशिर विशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेका छन् । संगीत श्रीकृष्ण बम मल्लको रहनेछ । आरआर फिल्म्सले वितरण गर्ने फिल्म ’मितज्यू’ आगामी वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस