२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

राप्ती प्रादेशिक अस्पतालका भरोसा : एक्लै १०० भन्दा बढी बिरामी हेर्ने हड्डी रोग विशेषज्ञ डा. शर्मा

दाङ जिल्लाका प्रमुख सरकारी अस्पतालमध्ये एक तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डा. हेमराज शर्मा हाल पश्चिम दाङका एक मात्र सरकारी हड्डी, जोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । उनी दैनिक १०० भन्दा बढी बिरामीलाई निरन्तर सेवा दिँदै आएका छन् । २०४४ सालमा तत्कालीन पवननगर गाविस हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेमा जन्मिएका डा. शर्माले २०६९ सालमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस पूरा गरेका हुन् । नेपाल सरकारको छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन सकेपछि सरकारी नीतिअनुसार पहिलोपटक राप्ती प्रादेशिक अस्पतालमै सेवा दिन आएका थिए ।

२०७५ सालमा उनले न्याम्स (NAMS) अन्तर्गत अर्थोपेडिक तथा ट्रमा सेन्टरबाट एमएस–अर्थोपेडिक्स अध्ययनका लागि सरकारी कोटामै नाम निकाले । २०७८ सालमा अर्थोपेडिक सर्जन तहको उपाधि हासिल गरेपछि पुनः राप्ती प्रादेशिक अस्पतालमा हड्डी रोग विशेषज्ञका रूपमा जिम्मेवारी पाएका हुन् । यसअघि अस्पतालमा दुई जना हड्डी रोग विशेषज्ञ रहे पनि अर्का विशेषज्ञको सरुवापछि पछिल्ला करिब अढाई वर्ष देखि डा. शर्मा एक्लैले हड्डी रोग सेवाको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी हिँड्दाहिँड्दै पनि बिरामी जाँच्ने, आवश्यक परीक्षण सिफारिस गर्ने, रिपोर्ट आएपछि तुरुन्त उपचार सुरु गर्ने र शल्यक्रिया आवश्यक परेमा अप्रेसनको तयारी गरिदिन्छन् । जटिल अवस्थामा मात्रै ठूला अस्पतालमा रिफर गर्ने उनी बताउँछन् । 

“करिब ५ प्रतिशत जटिल केस मात्र बाहिर पठाउँछु, बाँकी ९५ प्रतिशत बिरामी यही अस्पतालमै उपचार हुन्छ ।”

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीको बिल आफ्नै खल्तीबाट तिरेर सेवा दिएको घटना पनि उनका लागि सामान्य कुरा बनेको छ ।

पैसा नहुँदा बिरामी फर्किनु नपरोस् भन्ने मात्रै सोच हो, उनी भन्छन् । सरकारी समयपछि पनि अस्पतालमै बसेर सेवा दिने डा. शर्मा भन्छन्- सरकारले मलाई पढायो, नागरिकको सेवा गर्न जिम्मेवारी दियो । सकेसम्म बिरामीलाई स्वास्थ्य सेवा दिनु नै मेरो कर्तव्य हो । सरल स्वभाव, उच्च जिम्मेवारीबोध र निरन्तर सेवाका कारण डा. हेमराज शर्मा आज दाङ जिल्लाको स्वास्थ्य क्षेत्रको भरोसाको नाम बनेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस