२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

तुलसीपुरमा “शहरी महिला गरिबी निवारण कार्यक्रम” अन्तर्गत सीपमूलक तालिम उद्घाटन

दाङ, २४ चैत । ‛सीपयुक्त महिला, समृद्ध समाज, घरमै सीप घरमै आम्दानी’ भन्ने मूल नाराका साथ शहरी महिला गरिबी निवारण कार्यक्रम अन्तर्गत १५ दिने अचार उत्पादन, गुडिया (डोल) निर्माण तथा हातले बनाउने धुप उत्पादन सम्बन्धी सीपमूलक तालिम आज तुलसीपुरमा उद्घाटन गरिएको छ । सेवा प्रतिष्ठान नेपाल, तुलसीपुरको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ७ का अध्यक्ष राम बहादुर जी.सी.ले तालिममा सहभागी महिलाहरूलाई तन, मन र ध्यान दिएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपले आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी वडा नं. ९ का अध्यक्ष घनश्याम ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै परम्परागत जीवनशैलीबाट माथि उठेर वैज्ञानिक र नवीन तरिकाबाट आर्थिक जोहो गर्न यस तालिमले ठूलो योगदान पुर्‍याउने बताएका हुन । उनले लगनशील भएर तालिम सिक्दै गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरेका हुन ।

त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथि सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुरका प्रमुख गिरिराज पाण्डेले वडा अध्यक्षहरूले विश्वास गरेर आफ्ना वडाबाट छनोट गरी तालिममा पठाएको हुँदा उहाँहरूको विश्वास नटुट्ने गरी प्रशिक्षकले सिकाएको सीप ध्यानपूर्वक सिक्न आग्रह गरेका हुन । उनले कुनै पनि अन्योलता भए नहिचकिचाई प्रशिक्षकलाई सोध्न तथा बजारमा बिक्रीयोग्य सामग्री उत्पादन गर्न प्रेरित गरेका हुन ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष एवं सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल के.सी.ले तालिमलाई केवल तालिमका रूपमा मात्रै नभई आत्मनिर्भर, सक्षम र रोजगारीमुखी बन्नका लागि लिनुपर्नेमा जोड दिएका थिए । उनले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा यस्ता अन्य कार्यक्रमहरू समेत विस्तार गर्दै जाने जानकारी दिएका हुन ।

यसैगरी गुडिया निर्माण तालिमकी प्रशिक्षक बालकुमारी खड्काले सहभागी महिला दिदीबहिनीहरूले ध्यानपूर्वक सिके छोटो समयमै राम्रो उपलब्धि हासिल गर्न सक्ने बताएका हुन । आफूले १२ वर्षअघि सानो व्यवसाय सुरु गरी हाल राम्रो आम्दानी गरिरहेको अनुभव सुनाउँदै उनले प्रशिक्षार्थीहरूलाई प्रविधिको सदुपयोग गर्न अनुरोध गरेका हुन ।

सो अवसरमा अचार उत्पादनकी प्रशिक्षक नीमा चौधरी गिरि, कार्यक्रमका अध्यक्ष सन्तोष के.सी. लगायतकाले आफ्नो मन्तव्यसहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका कोषाध्यक्ष प्रकाश के.सी.ले स्वागत मन्तव्य राखेका थिए भने महासचिव केउलापति चौधरीले कार्यक्रम सञ्चालन गरेकि थिईन । उक्त तालिमले महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्षम बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस