२०८३ जेष्ठ ३ गते आइतवार | 2026 May 17th Sunday

सगरमाथा स्कुलको सिकाई विद्यालयबाट घरसम्म

दाङ, २८ चैत । दाङको तुल्सीपुर उपमहानगरपालिका – ९ बेलुवामा रहेको सगरमाथा स्कुलले शिक्षालाई व्यवहारमा उतार्दै एउटा उदाहरणीय अभ्यास अघि सारेको छ जहाँ विद्यार्थीहरू आफैं शिक्षक बन्छन् ।

यसको प्रभाव अहिले घरघरमा देखिन थालेको छ ।

तुल्सीपुर ९ बेलुवा निबासी अभिभावक पिताम्बर केसी भन्नुहुन्छ, विद्यालयले स्कुलमा ग्रुपमा पढ्ने अभ्यास गराएको प्रभाव अहिले घरमा पनि देखिन थालेको छ । नानी बाबुले यसरी पढेको देख्दा आफूलाई निकै खुसी लागेको केसीले बताएका छन । विद्यालयले कक्षा सञ्चालनकै क्रममा विद्यार्थीहरूलाई समूहमा राखेर ‘जान्नेले नजानेलाई सिकाउने  संस्कार विकास गराउँदै आएको  विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले बताएका हुन ।

यस अभ्यास अन्तर्गत सिनियर विद्यार्थीहरू जुनियरका लागि मार्गदर्शक बन्दै ज्ञान बाँडिरहेका छन् । यसले सिकाइलाई सरल, सहज र प्रभावकारी बनाएको विद्यार्थी अनिषका डांगीको भनाइ छ ।

यसबाट विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य भावना उल्लेखनीय रूपमा विकास भइरहेको छ ।

अझ महत्वपूर्ण कुरा के छ भने, यो सकारात्मक अभ्यास विद्यालयमै सीमित नरही अहिले फाइनल परीक्षा सकिएर घरमा बसिरहेका विद्यार्थीहरूमा पनि देखिन थालेको छ ।

घरमा बस्दा पनि दाइ – दिदीहरूले आफ्ना साना भाइबहिनीलाई पढाउँदैछन् । जान्ने विद्यार्थीले नजान्नेलाई सिकाउने संस्कार घर – घरमा फैलिँदै गएको छ ।

यसले देखाएको छ – सगरमाथा स्कुलको सिकाइ केवल कक्षाकोठामा सीमित छैन, यो जीवनशैली बनेको छ ।

ज्ञान बाँड्दा बढ्छ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै सगरमाथा स्कुलले सिक्दै सिकाउने संस्कृतिलाई विद्यालयबाट घरसम्म पुर्‍याएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस