दाङ, ३० चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरस्थित सजना मिष्ठान भण्डारसँग सम्बन्धित समाचारपछि उत्पन्न विवादप्रति ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति भए कानुनी तथा प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्ने उल्लेख गरेको छ ।
विज्ञप्तिमा पत्रकार चेतन वली र माधव दाहालले उठाएको विषयमा मिष्ठान भण्डारले उजुरी दिएको र नेपाल पत्रकार महासंघ दाङ शाखाले छानबिन समिति गठन गरी काम गरिरहेको अवस्थामा सार्वजनिक रूपमा अपमानजनक गतिविधि हुनु दुःखद भएको बताइएको छ ।
शाखाले सामाजिक सञ्जालमा व्यक्तिको चरित्रमाथि आँच पुग्ने गरी फोटो टाँस्ने तथा आरोप-प्रत्यारोप गर्ने कार्य गैरकानुनी र अनुचित भएको ठहर गर्दै यस्ता गतिविधिप्रति कडा आपत्ति जनाएको छ ।
साथै, प्रेस चौतारीले सत्य र निष्पक्षताको पक्षमा उभिँदै विवाद समाधानका लागि दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । सञ्चारमाध्यमलाई गलत ढंगले व्याख्या गरी नियन्त्रण गर्न खोज्ने कार्य नगर्न समेत सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।