दाङ, ३० चैत । नेपाल पत्रकार महासंघले दाङको तुलसीपुरस्थित सजना मिष्ठान भण्डारमा पत्रकारमाथि गरिएको अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार चेतन वली र माधव दाहालको फोटो शौचालयमा राखेर अपमानित गरिएको घटनालाई निन्दनीय र अस्वीकार्य कार्यको रूपमा व्याख्या गरेको छ ।
महासंघका अनुसार उक्त भण्डारको खाद्य सुरक्षासम्बन्धी विषयमा तुलसीपुर डट कममा समाचार प्रकाशित भएपछि पत्रकारहरूलाई लक्षित गर्दै यस्तो व्यवहार गरिएको हो । लुम्बिनी प्रदेश समितिले यस घटनालाई पत्रकारितामाथिको हमला तथा बदनाम गर्ने नियतले गरिएको कार्य भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, समाचारप्रति कुनै गुनासो भए प्रचलित कानुनी प्रक्रिया अपनाउनुपर्नेमा त्यसो नगरी गरिएको यस्तो हर्कत सामाजिक अपराधसमेत भएको ठहर गरिएको छ । महासंघले घटनाको घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।