दाङ, २१ असार । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले पवननगर लघु उद्यमी समूहलाई आलु तथा केराको चिप्स बनाउने मेसिन हस्तान्तरण गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममार्फत समूहलाई उक्त मेसिन उपलब्ध गराइएको हो ।
मेसिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्दै उद्यमीहरूको आयआर्जन वृद्धि गर्न आधुनिक प्रविधिको पहुँच अत्यन्तै आवश्यक रहेको बताएका हुन । उनले आधुनिक मेसिनको प्रयोगबाट उत्पादन क्षमता वृद्धि हुनुका साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै, उक्त मेसिनले आलु तथा काँचो केराको चिप्स उत्पादनलाई सहज, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, वडा नं. १ का अध्यक्ष हुम्कान्त सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो । मेसिन पवननगर लघु उद्यमी समूहकी अध्यक्ष देवी भुसाल, सचिव सीता देवकोटा वली तथा कोषाध्यक्ष रेश्मी बुढाथोकीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
