दाङ, १० साउन । दाङको तुलसीपुर उपमहानगरपालिका ३ कल्लेस्थित नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावकविहीन बनेका दुई बालकलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ । क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारको घरमै पुगेर रु. १६ हजार ५ सय ८५ नगदसहित चामल, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
केही वर्षअघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई बालकले हालै विषालु च्याउ खाँदा आमा दीपा पुनलाई पनि गुमाएका हुन् । दुवै अभिभावकको निधनपछि उनीहरूको शिक्षा, पालनपोषण र दैनिक जीवनयापनमा कठिनाइ थपिएको छ ।
बालकहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था र सामाजिक अभियन्ताहरूले सहयोग गरिरहेका छन् । उनीहरूको भविष्य सुरक्षित बनाउन थप सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिएको छ ।

