२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

तीन युवा मिलेर खोले ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा पुर्‍याउने लक्ष्य

काठमाडौ, १ भदौ । तीन युवा मिलेर ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि.’ सञ्चालनमा ल्याएका छन् । काठमाडौंको सामाखुसी टाउनप्लानिङमा कार्यालय स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा दिने उद्देश्यसहित कम्पनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका  गोपाल चन्द, लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत तिलक केसी र स्नातकोत्तर तहमा अध्ययनरत रामकुमार डंगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन् ।

कम्पनीको उद्घाटन समाजसेवी तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले रिबन काटेर गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले पछिल्लो समय कुरिएर तथा कार्गो सेवाको आवश्यकता बढ्दै गएको बताए । उनले कुरिएर सेवा सामान ओसारपसार मात्र नभई समय, सुरक्षा र विश्वाससँग जोडिएको व्यवसाय भएकाले सेवाग्राहीको विश्वास जित्न कम्पनी सफल हुनुपर्ने बताए ।

“सेवाग्राहीले आफ्नो महत्वपूर्ण सामान वा कागजात जिम्मा दिँदा सुरक्षित रूपमा सही गन्तव्यमा पुग्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ,” वलीले भने । उनले गन्तव्य कुरिएरलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहेका कम्पनीका  अध्यक्ष गोपाल चन्दले नेपालमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको बताए । “हामी तीन जना युवाले विदेश जानेभन्दा आफ्नै देशमा सम्भावना खोजेर केही गर्नुपर्छ भन्ने सोचका साथ गन्तव्य कुरिएर सुरु गरेका हौं,” उनले भने, “सुरुवात सानो भए पनि हाम्रो लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय कुरिएर कम्पनी बनाउने हो।” उनले कम्पनीको उदेश्य पैसा कमाउने मात्र नभई सानो संख्यामा भए पनि रोजगारी दिने योजना बनाएको बताए ।  चन्दले पत्रकारिता सगसगै मास्टर इन मिडिया टेक्नोलोजीबाट मास्टर डिग्री गरेका छन । 

सूचना प्रविधिको अनुभव बोकेका कम्पनीका संचालक समिती सदस्य तिलक केसीले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहज र भरपर्दो सेवा दिने बताए । “आजको डिजिटल युगमा कुरिएर सेवा अत्यावश्यक बन्दै गएको छ। ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा पनि घरदैलोमै पुगेर सेवा दिने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने । 

त्यस्तै, स्नातकोत्तर अध्ययनरत संचालक समितिका सदस्य रामकुमार डंगीले युवाहरूले रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा पनि अघि बढ्नुपर्ने बताए। “हामीले एउटा व्यवसाय मात्र सुरु गरेका होइनौं, नेपालमै बसेर युवाले केही गर्न सक्छन् भन्ने उदाहरण पनि बन्न चाहन्छौं,” उनले भने ।

गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानमा कागजात, पार्सल तथा व्यावसायिक सामग्री पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सञ्चालन गर्ने जनाएको छ । आगामी दिनमा देशका विभिन्न स्थानमा सेवा सञ्जाल विस्तार गर्दै रोजगारीका अवसरसमेत सिर्जना गर्ने कम्पनीको योजना छ ।

‘तपाईंको सामान, हाम्रो जिम्मेवारी सुरक्षित गन्तव्यसम्म’ भन्ने भावनासहित सुरु भएको गन्तव्य कुरिएरले सेवाग्राहीको विश्वासलाई आफ्नो मुख्य आधार बनाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस