२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

नमुना भुइह्यार थानमा माघ विशेष कार्यक्रम हुने

उदीराम चौधरी,

     थारू भाषा, संस्कृति, भेषभुषा संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले तुलसीपुरमा माघ विशेष कार्यक्रम हुन लागेको छ । थारू संवत् २६४९ तथा वि.सं २०८२ सालको माघ विशेष कार्यक्रम बारे तुलसीपुर क्षेत्रका थारु अगुवाहरुसँग आज गरिएको छलफलबाट पुस २५ गते शुक्रबारको दिन कार्यक्रम गर्ने सहमति भएको छ । 

नमुना भुह्यार थान जबरपुर, थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३, मटावा महासंघ तुलसीपुर, स्वास्थ्यकर्मी समाजको संयुक्त आयोजनामा माघ विशेष कार्यक्रम गर्न लागेको थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिए । उनकाअनुसार पुस २५ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । उक्त कार्यक्रममा ३–४ वटा मघौटा नाच देखाउने र ढुम्रु गीत गाउने कार्यक्रम रहेको छ । 

त्यस्तै माघ विशेष कार्यक्रममा सहभागी हुने महिला, पुरूष र किशोरकिशोरीहरु थारू पहिरनमा उपस्थित हुने पनि बताइएको छ ।  त्यसका साथै खानापिनमा प्रयोग हुने सामग्री थारू समुदायले पहिलेबाट प्रयोग गर्दै आएको मालुको पातबाट बनेको दुना टपरी प्रयोग गरिने नमुना भुह्यार थान जबरपुरका अध्यक्ष राम शरण चौधरीले जानकारी दिए । उक्त अवसरमा माघीमा गाइने ढुम्रु गितको बारेमा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

उक्त छलफलमा लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य एवं थारु कल्याणकारिणी सभा दाङ देउखरका निवर्तमान अध्यक्ष भुवन चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहाद्ुर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, थारु मटावा संघ तुलसीपुरका अध्यक्ष बुझौना थारु, थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन चौधरीलगायत विभिन्न गाउँका महटावा, थारु  अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस