२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

जन्मदिनमा सामाजिक उदाहरण, वलीद्वारा २५ विद्यार्थीलाई सहयोग

दाङ १४ फागुन । जन्मदिन भन्नेबित्तिकै धेरैका लागि केक, भोजभतेर र रमाइलो सम्झना आउँछ । तर तुलसीपुर–५ निवासी व्यवसायी गङ्गा वलिले भने आफ्नो जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै उदाहरणीय कार्य गरेका छन ।

उनले तुलसीपुर–५ स्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत २५ जना गरिब तथा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री र जुत्ता हस्तान्तरण गरेकि हुन । 

कार्यक्रममा बोल्दै वलिले आफ्नो जन्मदिनलाई खर्चिलो र औपचारिकतामा सीमित नराखी समाजका आर्थिक रूपमा कमजोर विद्यार्थीको अनुहारमा मुस्कान ल्याउन पाएकोमा खुसी व्यक्त गरेकि हुन । उनले भने, “हामीले एक दिनको अनावश्यक खर्च कटाएर कसैको भविष्य उज्यालो बनाउन सक्यौं भने त्यो नै सबैभन्दा ठूलो उत्सव हो।” साथै, उनले सबैलाई यस्ता सामाजिक तथा मानवीय कार्यमा अघि बढ्न आग्रह समेत गरेकी थिइन ।

यसै कार्यक्रममा सहभागी युवा व्यवसायी टोप बहादुर घर्ती मगरले विद्यालयमा अध्ययनरत गरिब, टुहुरा तथा अभिभावकविहीन बालबालिकाको अवस्थाबारे पहिलेदेखि नै सुन्दै आएको बताउँदै स्वयं उपस्थित भएर सहयोग कार्यक्रममा सहभागी हुन पाउँदा गर्व र खुसी लागेको उल्लेख गरेका थिए । उनले आगामी दिनमा पनि सकेको सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षि कर्कीले जन्मदिनको शुभकामना व्यक्त गर्दै विद्यालयमै आएर सहयोग गरेकोमा गङ्गा वलिप्रति हार्दिक आभार व्यक्त गरेकी थिईन । उनले यस्ता सकारात्मक र उदाहरणीय कार्यले समाजमा राम्रो सन्देश जाने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखेकी थिईन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण विद्यालयका प्राध्यापक मेघराज घिमिरेले गरेका थिए ।  कार्यक्रममा शिक्षक–शिक्षिका, तथा विभिन्न समाजसेवी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस