दाङ, १५ चैत । दाङको तुलसीपुरमा खुल्ला पुरुष ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । फेलोसिप भलिबल क्लब तुलसीपुर ९ बेलुकाको आयोजनामा चैत २० र २१ गते प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलप्रति युवापुस्तामा आकर्षण बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा दाङसहित आसपासका जिल्लाबाट विभिन्न टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउन उत्कृष्ट टिमहरूबीच कडा भिडन्त हुने अनुमान गरिएको फेलोसिप भलिबल क्लबका अध्यक्ष राजु यरिले जानकारी दिएका छन ।
यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभा खोज्न पनि महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ । साथै, खेलकुदमार्फत समाजमा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य समेत राखिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण टिम तथा खेलाडीहरूलाई समयमै नाम दर्ता गराउन आग्रह गरिएको छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ भने टिम दर्ता गर्ने अन्तिम समय १९ गते साझ ५ बजे सम्म रहने छ ।
