दाङ, २८ चैत । दाङको तुल्सीपुर उपमहानगरपालिका – ९ बेलुवामा रहेको सगरमाथा स्कुलले शिक्षालाई व्यवहारमा उतार्दै एउटा उदाहरणीय अभ्यास अघि सारेको छ जहाँ विद्यार्थीहरू आफैं शिक्षक बन्छन् ।
यसको प्रभाव अहिले घरघरमा देखिन थालेको छ ।
तुल्सीपुर ९ बेलुवा निबासी अभिभावक पिताम्बर केसी भन्नुहुन्छ, विद्यालयले स्कुलमा ग्रुपमा पढ्ने अभ्यास गराएको प्रभाव अहिले घरमा पनि देखिन थालेको छ । नानी बाबुले यसरी पढेको देख्दा आफूलाई निकै खुसी लागेको केसीले बताएका छन । विद्यालयले कक्षा सञ्चालनकै क्रममा विद्यार्थीहरूलाई समूहमा राखेर ‘जान्नेले नजानेलाई सिकाउने संस्कार विकास गराउँदै आएको विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले बताएका हुन ।
यस अभ्यास अन्तर्गत सिनियर विद्यार्थीहरू जुनियरका लागि मार्गदर्शक बन्दै ज्ञान बाँडिरहेका छन् । यसले सिकाइलाई सरल, सहज र प्रभावकारी बनाएको विद्यार्थी अनिषका डांगीको भनाइ छ ।
यसबाट विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य भावना उल्लेखनीय रूपमा विकास भइरहेको छ ।
अझ महत्वपूर्ण कुरा के छ भने, यो सकारात्मक अभ्यास विद्यालयमै सीमित नरही अहिले फाइनल परीक्षा सकिएर घरमा बसिरहेका विद्यार्थीहरूमा पनि देखिन थालेको छ ।
घरमा बस्दा पनि दाइ – दिदीहरूले आफ्ना साना भाइबहिनीलाई पढाउँदैछन् । जान्ने विद्यार्थीले नजान्नेलाई सिकाउने संस्कार घर – घरमा फैलिँदै गएको छ ।
यसले देखाएको छ – सगरमाथा स्कुलको सिकाइ केवल कक्षाकोठामा सीमित छैन, यो जीवनशैली बनेको छ ।
ज्ञान बाँड्दा बढ्छ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै सगरमाथा स्कुलले सिक्दै सिकाउने संस्कृतिलाई विद्यालयबाट घरसम्म पुर्याएको छ ।
