२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

पत्रकार महासंघ लुम्बिनी प्रदेशले भन्यो – पत्रकारमाथी झुटा आरोप लगाई चरित्र हत्या गर्नेलाई तत्काल कारवाही गर

दाङ, ३० चैत । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले दाङको तुलसीपुरका पत्रकार चेतन वली र माधव दाहाललाई लक्षित गर्दै सार्वजनिक रूपमा गरिएको अपमानजनक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा समाचार सामग्रीप्रति असहमति भए कानुनी तथा संस्थागत माध्यमबाट समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै व्यक्तिमाथि झुटा आरोप लगाई सार्वजनिक स्थलमा फोटो टाँस्ने तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य गैरकानुनी र अस्वीकार्य भएको उल्लेख गरिएको छ । महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डपप्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा तुलसीपुरस्थित सजना मिष्ठान भण्डार परिसरमा पत्रकारमाथि आधारहीन आरोपसहित सामग्री सार्वजनिक गरिएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ ।

साथै यस्तो गतिविधिले प्रेस स्वतन्त्रतामाथि अनावश्यक दबाब सिर्जना गरेको महासंघको ठहर छ । यो बिषयमा प्रेस काउन्सिल नेपाल तथा दाङ शाखाबाट आवश्यक प्रक्रिया अघि बढिरहेको अवस्थामा यस्ता कार्यले समग्र सञ्चार क्षेत्रलाई नै प्रभावित पार्ने बताइएको छ । महासंघले पत्रकारको चरित्रहत्या गर्ने, त्रास सिर्जना गर्ने तथा पेशागत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै पत्रकारहरूलाई निर्भीक र जिम्मेवार पत्रकारितामा निरन्तर सक्रिय रहन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस