२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षामा सक्सेस एकेडेमीको नयाँ पहल, दुर्घटना बीमा सुविधा लागू

दङ,१० असार । तुलसीपुर ९ बेलुवास्थित सक्सेस एकेडेमी (सप्तरङ्गी इङ्ग्लिस मिडियम स्कूल) ले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा र कल्याणलाई मध्यनजर गर्दै दुर्घटना बीमा सुविधा लागू गरेको छ । विद्यालयले eSewa Insurance सँगको सहकार्यमा उक्त बीमा योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

विद्यालयका अनुसार अध्ययन तथा कार्यका सिलसिलामा विद्यालय आउँदा जाँदा, खेलकुद गतिविधि, शैक्षिक भ्रमण तथा अन्य अतिरिक्त क्रियाकलापका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै यो योजना सुरु गरिएको हो । बीमा योजना अन्तर्गत दुर्घटनाबाट घाइते भई उपचार आवश्यक परेमा प्रतिव्यक्ति अधिकतम रु. १ लाखसम्मको उपचार खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ । सडक तथा सवारी दुर्घटना, खेलकुदका क्रममा हुने दुर्घटना लगायत अन्य आकस्मिक घटनामा समेत यो सुविधा लागू हुने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार बीमाको अवधि एक वर्ष रहनेछ भने तोकिएको सीमाभित्र आवश्यकताअनुसार पटक पटक दाबी गर्न सकिने व्यवस्था समेत रहेको छ ।

विद्यालयका प्रिन्सिपल प्रदीप ओली ले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो योजना लागू गरिएको बताएका हुन । उनले शिक्षण सिकाइसँगै विद्यालय परिवारको स्वास्थ्य, सुरक्षा तथा कल्याणप्रति विद्यालय सधैं जिम्मेवार रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताएका हुन ।

विद्यालयका अध्यक्ष ललित जंग शाह ले सुरक्षित, जिम्मेवार र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने विद्यालयको प्रतिबद्धताअनुसार दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याइएको बताएका हुन । विद्यालयको यो कदमलाई विद्यार्थी तथा अभिभावकमैत्री र अनुकरणीय पहलका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस