२०८३ असार २० गते शनिवार | 2026 July 4th Saturday

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आफ्नै कार्यालय स्थापना

दाङ, २० असार । वि.सं. २०५७ सालमा स्थापना भएको दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले लामो समयको अन्तरालपछि आफ्नै कार्यालय स्थापना गरी विशेष समारोहका बीच उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त जोशीले गरेका थिए । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, आधुनिक प्रविधिसँगको समायोजन, व्यवसायीहरूबीचको एकता तथा संस्थागत सुदृढीकरणमा जोड दिएका थिए । नयाँ कार्यालयले जिल्लाका फोटोग्राफरहरूलाई एकताबद्ध गर्दै सीपमूलक तालिम, अन्तरक्रिया तथा रचनात्मक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा दाङ जिल्ला तुलसीपुर शाखाका अध्यक्ष मिनराज ओली, देउखुरी शाखाका अध्यक्ष कृष्ण पन्थी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्यहरू तथा दाङ जिल्लाका पूर्व अध्यक्षहरूले मन्तव्य राख्दै संस्थाको स्थापना, विकास र आगामी योजनाबारे धारणा व्यक्त गरेका थिए । वक्ताहरूले नयाँ कार्यालय स्थापना संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले फोटोग्राफरहरूको हकहित संरक्षण, व्यावसायिक विकास, सीप अभिवृद्धि तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । पूर्व अध्यक्षहरूले संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्ताका फोटोग्राफरहरूलाई सिर्जनशील, जिम्मेवार र प्रविधिमैत्री बन्न आग्रह समेत गरेका थिए ।

कार्यक्रमको समापनमा आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अतिथिहरू, पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू, सञ्चारकर्मी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै संस्थालाई आगामी दिनमा अझ सुदृढ र व्यावसायिक बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस