२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

ग्यासको सहज आपूर्तिको व्यवस्था गर्न नेकपा (माओवादी) दाङको सरकारसँग माग

दाङ, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै खाना पकाउने ग्यासको चर्को अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका जिल्ला सचिव तिलक सीद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय बजारमा बढ्दो मूल्यवृद्धिको मार नेपाली नागरिकले खेपिरहेको उल्लेख गर्दै अहिले दाङसहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिएको जनाइएको छ । ग्यास डिलरमा उपभोक्ताले घण्टौँ लाइनमा बस्दा पनि खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत सरकारले आवश्यकताका आधारमा सहज र नियमित ग्यास आपूर्तिको व्यवस्था मिलाउन तथा सम्बन्धित निकायले वितरण प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ । साथै, ग्यास वितरणमा कालोबजारी, कृत्रिम अभाव, चुहावट तथा असमान वितरण हुन नदिन कडा निगरानी गर्न र दोषीमाथि कानुनी कारबाही अघि बढाउन समेत माग गरिएको छ ।

पार्टीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार र सरोकारवाला निकायलाई तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस